उर्जा,जलस्रोत तथा सिंचाईमन्त्री बर्षमान पुनले कार्यसम्पादन सम्झौताअनुसार काम गर्न मातहतका निकायलाई निर्देशन दिएका छन्।
सिंहदरवारस्थित उर्जामन्त्रालयमा भएको ०७६/७७ को प्रथम चौमासिक प्रगति समीक्षा एवं राष्ट्रिय विकास समस्या समाधान समितिको बैठकमा बोल्दै मन्त्री पुनले आफुसंग गरिउको कार्यसम्पादन सम्झौताअनुसार काम नगरे जिम्मेवारीबाट हटाउने चेतावनी समेत दिए।
'मैले प्रधानमन्त्रीज्युसंग कार्यसम्पादन सम्झौता गरेको छु, म त्यहीअनुसार काम गर्छु, सचिवज्युले मसंग गर्नुभएको छ । त्यस्तै सचिवज्युसंग सहसचिव र अन्य उच्च अधिकारीले सम्झौता गनुभएको छ । सम्झौताअनुसारको काम भयो कि भएन अहिलेलाई त्यो नै मुल्याङकन हो । कार्यसम्पादनअनुसार काम नभएको भए आफ्नो जिम्मेवारी पनि सोचौं'मन्त्री पुनले बैठकमा भने।
मन्त्री पुनले राज्य र सरकारको कार्यशैली फेरिएको भन्दै त्यहिअनुसार काम गर्न पनि निर्देशन दिए।उनले बजेटमा एउटा उल्लेख भएको र काम गर्दा त्यसलाई बेवास्ता गर्ने कार्यशैली देखिएको भन्दै लक्ष्यभन्दा बाहिर गएर काम नगर्न समेत चेतावनी दिए।
राष्ट्रिय गौरव र प्राथमिकताका आयोजनामा गम्भिर भएर काम गर्न र फिल्डमै गएर आयोजनाको अवस्था बुझ्न र सहजीकरण गर्न पनि मन्त्री पुनले निर्देशन दिए।
अरु निकायलाई दोष देखाएर आफु पन्छिने काम भइरहेको भन्दै मन्त्री पुनले नेतृत्वले समस्याको समाधान आफैले गर्नुपर्ने बताए।
'तपाईहरुले राष्ट्रिय गौरव र प्राथमिकतामा परेका आयोजनाहरुको सोझै सचिव,महानिर्देशकहरुले नै निगरानी र सहजीकरण गर्नुपर्यो, आफै फिल्डमा गएर भएपनि समस्याको समाधान गर्नुपरो । अहिले पनि अरुलाई मात्र दोष दिएर उम्कने काम राम्रो होईन' उनले भने।
समीक्षा बैठकमा मन्त्रालय, नेपाल विद्युत प्राधिकरण, विद्युत विकास विभाग, बैकल्पिक उर्जा प्रबर्धन केन्द्र र जल तथा मौसम विज्ञान विभागलगायतका सरकारी कम्पनीका प्रमुहरुले प्रस्तुतिकरण गरेका थिए।