पैदल यात्रुले आकाशे पुल प्रयोग नगरी पुल मुनीबाटै बाटो काटेर हैरान बनाएपछि चक्रपथ (कोटेश्वर–कलंकि सडकखण्ड)मा रेलिङ (बार) लगाइने भएको छ।
चक्रपथ आयोजना प्रमुख अमृतमणी रिमालकाअनुसार कलंकिदेखि कोटेश्वरसम्म रेलिङ बनाउन लागिएको हो।
उक्त सडकखण्डमा मानिसहरुले जहाँ पायो त्यहीबाट बाटो काट्ने गरेकाले दुर्घटनाको जोखिम बढेपछि रेलिङ लगाउन बाध्य भएको बताए।
‘कलंकिदेखि कोटेश्वर सम्ममा ६ वटा आकाशे पुल छन्। तर, अधिकांश सर्वसाधारण पुलको प्रयोग नगरी पुलमुनिबाटै बाटो काटीरहेका छन्। त्यसैले आकाशे पुलको दायाँबाया, दुबैतर्फ २ सय मिटरका दरले रेलिङ बनाउन लागिएको हो’ रिमालले भने।
‘जानेबुझेकै पैदल यात्रुले पनि आकाशे पुल प्रयोग गरेको देखिएन त्यसैले यो आवश्यक नै देखियो’ उनले थपे।
६ वटै आकाशे पुलको आसपासमा तीन महिनाभित्र रेलिङ राखिसक्ने उनले दाबी गरे । त्यसका लागि बजेट विनियोजन पनि भइसकेको रिमालले जानकारी दिए ।