नेपाल कम्युनिस्ट पार्टी(नेकपा) निकटलाई नेपाल पर्यटन बोर्डको नयाँ प्रमुख कार्यकारी अधिकृत (सिइओ) ल्याउनका लागि कार्यविधि मिच्दै चलखेल सुरू भएको छ।
तत्कालीन सिइओ दीपकराज जोशीको कार्यकाल डिसेम्बर २४ मा सकिएपछि बोर्डमा नयाँ नियुक्तिको पक्रिया सुरू भएको थियो। नयाँ नियुक्तिका लागि नेकपानिकट पर्यटन व्यवसायीहरू लबिङमा लागेका छन्। लबिङमा लागेकै कारण अन्तिम प्रक्रियामा पुगेको सिइओ छनौट प्रक्रिया रोकिएको हो।
बोर्डले सिइओ नियुक्तिका लागि बनाएको कार्यविधिमार्फत् मागिएको आवेदनमा नेकपानिकटका व्यक्ति छनौट नहुने भएपछि यो अवस्था आएको हो। यसरी प्रक्रियालाई उल्लंघन गरेपछि छनौट उपसमितिका सदस्य तथा पर्यटन बोर्ड सदस्य कृष्णबहादुर महराले फेसबुकमा स्टाटस लेख्दै असन्तुष्टि व्यक्त गरेका छन्।
आफ्नो स्टाटसमा उनले बोर्डले बनाएको कार्यविधि मिचिएकोमा आपत्ति प्रकट गरेका छन्।
'सिइओ छनौट गर्न बोलाइएको पर्यटन बोर्डको बैठक छलफल नै नगरी पटक पटक स्थगित गरिएको छ र अहिले आएर अर्को सूचना नआएसम्मका लागि भनेर स्थगित गरिएको मेसेज आयो। बोर्डको बैठकमा सम्भावित ३ जनाको विषयमा छलफल गर्ने हो कि नेताको घरघरमा गएर चाकडीको शैली प्रदर्शन गर्ने हो?' फेसबुकमा उनले लेखेका छन्,'पब्लिक प्राइभेट पार्टनरसिपको अवधारणामा नेपालको पर्यटनको विकास गर्ने उद्देश्यले गठन भएको संस्थालाई यस्तै मनोवृत्ति मानिसको नेतृत्वका कारण नेपाल टुरिजम बोर्डको आन्तरिक व्यवस्थापन जर्जर भएको छ भ्रष्टाचार मौलाएको छ। मालपोत, सडकपछि अख्तियारको दैनिकजसो नजर त्यहाँ छ। यस्तो संस्थामा एकजना राम्रो मान्छेलाई नेतृत्व दिनुपर्छ भन्ने हाम्रो मनसायलाई बोर्डको अध्यक्षले ठाडै लत्याउन खोजेको देखिएको छ तर तपाईंको त्यो मनसाय कुनैपनि हालतमा पूरा हुन दिइने छैन यो मेरो ठाडो चुनौती हो।'
बोर्डले छनौट उपसमितिमार्फत् सिइओ छनौट गर्ने कार्यविधि बनाएको छ जसअनुसार त्यो उपसमितिले पदपूर्तिका लागि सूचना प्रकाशित गर्ने र आएका आवेदनबाट अन्तिम ३ जनाको नाम सिफारिस गर्नुपर्ने प्रावधान छ।
यसै प्रावधानअनुसार छनौट उप-समितिले उपसमितिले ९ जनाको नामबाट ३ जनाको छनौट गरेको थियो।
सिफारिसमा हिक्मत सिंह अयर, दीपक बस्ताकोटी र धनञ्जय रेग्मी सिफारिसमा परेका थिए। कार्यविधि अनुसार यी ३ जनाबाट नयाँ सिइओ नियुक्ति गर्नु पर्ने भए पनि नेकपानिकट पर्यटन व्यवसायीको दबाबमा बैठक पटक-पटक गरी ३ पटक स्थगित गरिएको थियो। तर पछिल्लो पटक भने अनिश्चिकालका लागि बैठक स्थगित गरिएको सूचना टाँसिएको छ।
शुक्रबार बोर्ड मिटिङ बस्नु पर्ने भए पनि बस्न सकेन।
स्रोतका अनुसार नेकपानिकट पर्यटन व्यवसायीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटर कांग्रेस निकटलाई बोर्डमा ल्याउन थालिएकाले रोक्नुपर्ने र आफूनिकटलाई नियुक्ति दिनु पर्ने माग राखेका थिए।
व्यवसायीका कुरा सुनेपछि प्रधानमन्त्रीबाट कार्यविधिविपरित ५ जनाको सूची बनाएर त्यसमध्ये एकलाई छनौट गर्न पर्यटन बोर्डका अध्यक्ष एवं संस्कृति, पर्यटन तथा उड्यन मन्त्रालयका सचिव केदारबहादुर अधिकारीलाई निर्देशन दिएको स्रोतको दाबी छ।
सो पदका लागि पूर्वएमाले निकट बच्चु नारायणलाई नियुक्त गर्नका लागि यो चलखेल गरिएको स्रोतले सेतोपाटीलाई जानकारी दिएको छ। श्रेष्ठ हाल भिजिट नेपाल सचिवालयको सदस्य सचिव छन्।