धनुषाको कुर्थादेखि भारतको जयनगरसम्म सञ्चालनका लागि ल्याउन लागिएको रेल सेट १० दिनपछि भारतबाट पठाइने भएको छ।
भारतबाट पठाएको रेल सेट झण्डै १०/१५ दिनमा नेपाल आइपुग्ने रेल विभागले बताएको छ।
रेल सेट आइपुग्ने बित्तिकै सञ्चालनको तयारी अघि बढाउने विभागका महानिर्देशक बलराम मिश्रले जानकारी दिए।
उनकाअनुसार रेल सञ्चालनमा आउन एक/डेढ महिना समय लाग्नेछ।
‘रेल सेट आएपछि जाँच गर्छौैं। सम्झौता अनुरूपको छ/छैन जाँचेर सञ्चालनमा ल्याउँछौं,’ उनले भने।
फागुनसम्ममा रेल सञ्चालन गर्ने विभागको तयारी छ।
रेलको लिक, स्टेशन लगायत सम्पूर्ण भौतिक पूर्वाधारको काम केही समय अघि नै सम्पन्न भइसकेको छ।
सरकारले भारतीय सरकारी कम्पनी कोनकान कम्पनीमार्फत रेल सेट खरीद प्रक्रिया अघि बढाएको हो। ५ वटा डिब्बा भएको दुईवटा रेलसेट खरिद गर्न लागिएकाे छ।
पहिलो चरणमा एकसेट मात्र आउने छ। यो आइपुगेको १ महिनापछि अर्को सेट आइपुग्ने विभागले बताएको छ।
एउटा रेलको क्षमता एक हजार तीन सयसम्म यात्रु बोक्नसक्ने रहेको छ।
यसमा कुर्थाबाट विजलपुराखण्ड १७ किलोमिटर समेत गरेर ५२ किलोमिटर रेलमार्ग आगामी फागुनसम्म सम्पन्न हुने र त्यसपछि त्यहाँसम्म रेल पुग्ने विभागले बताएको छ।