धुलिखेल–बर्दिवास सडकखण्डमा सवारी साधन केही समय राख्न र रोक्न (पासिङ जोन) निर्माण गरिने भएको छ।
एक लेन चौडाइको सो सडकमा एउटा सवारीसाधन बिग्रदा अथवा राखिरहँदा सवारीसाधन आगमन ठप्प हुने अवस्थालाई अन्त्य गर्न ठाउँ–ठाउँमा पासिङ जोन निर्माण गर्न लागिएको हो।
एक सय ६० किमि सडकमा चार पाँच सय मिटरको दूरीमा जोन निर्माण गर्ने गरी योजना बनाइएको आयोजना व्यवस्थापक सूर्यबहादुर भाटले जानकारी दिए। उनकाअनुसार चार खण्डमा विभाजित सडकमा सबैभन्दा साँघुरो भागका रुपमा खुर्कोट–नेपालथोक रहेको छ। उनले भने, ‘चौडाइ बढी भएकोभन्दा कम चौडाइको सडकमा धेरै आवश्यक देखिएको छ।’
‘साँघुरो सडकमा पछिल्लो समय सवारी चाप बढिरहेको हुँदा यसको विकल्पको खोजी सुरु गरिएको हो। बिसाउन र रोक्न मिल्ने स्थान भएकैमा सवारीसाधनले उछिन्ने पनि गर्न सक्छन्। सडक विस्तारको तयारी अघि बढिरहँदा ‘जोन’ पनि तयारी भएको हो।’
सडक विभागले अन्य राजमार्गमा पनि पासिङ जोन निर्माण गर्दै जाने नीति बनाएको छ। निर्माणाधीन नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गमा पनि बिसाउन र रोक्न मिल्ने स्थान डिजाइनमा छ।
मुख्य सुरुङमार्गमा तीन वटा सवारीसाधन सहज आवत/जावत गर्नसक्ने र एउटा गाडी बिग्रे पनि दुईवटै गाडी चल्न सक्नेछन्। सहायक टर्नेल तत्काल उद्धारका लागि हुने बताइएको छ। ठाउँ–ठाउँमा मुख्य सुरुङबाट सहायक सुरुङ प्रवेशद्वार बन्नेछ।