विश्वमा धनि र गरिबको खाडल बढेको देखिएको छ।
गरिबी निवारणमा काम गरिरहेको अन्तर्राष्ट्रिय संस्था अक्सफामले प्रकासन गरेको प्रतिवेदनले विश्वका १ प्रतिशत अर्बपतिसँगको सम्पति ९२ प्रतिशत जनसंख्यासँग भएको सम्पति भन्दा बढी रहेको देखाएको छ।
अक्सफामको रिपोर्टकाअनुसार विश्वका २ हजार १ सय ५३ अर्बपतिसँग ४ अर्ब ६० करोड मानिससँग भन्दा बढी सम्पती रहेको देखिएको हो।
उक्त जनसंख्या विश्वमा हाल रहेको जम्मा जनसंख्याको ६० प्रतिशत हो। पछिल्लो दश वर्षमा विश्वको अर्बपतिको संख्या दुई गुणाले बढेको रिपोर्टमा उल्लेख छ।
विश्वका २२ धनि मानिससँग सारा अफ्रिकामा रहेका सबै महिलाको भन्दा बढी सम्पती देखिएको छ। १६ वर्ष माथिका काम गर्ने उमेर समूहका ४२ प्रतिशत महिलाले विना ज्याला काम गरिरहेका छन्। तर जम्मा ६ प्रतिशत पुरुष मात्रै यस्तो काम गर्छन्।
उनीहरुले खाना पकाउने, सरसफाइको तथा बालबच्चाको हेरचाहमा धेरै समय खर्च गर्नुपरेकाले ज्याला नपाएको देखिएको छ।
विश्वभरिको तथ्याङक हेर्दा पुरुषको स्वामित्वमा महिलासँग भएको सम्पती भन्दा ५० प्रतिशतले बढी सम्पती रहेको उक्त रिपोर्टमा उल्लेख छ।
रिपोर्टमा महिला र पुरुषकोबीचमा पनि असमानता देखिएको छ।
विश्वव्यापी रुपमा १८ प्रतिशत सरकारी मन्त्रालयमा र २४ प्रतिशत संसदमा महिला प्रतिनिधी छन्। रिपोर्टमा भनिएको छ,‘यसले गर्दा महिलाहरु नीति निमार्णबाट बाहिर रहेको देखिन्छ।’
रिपोर्टले धनिलाई बढी कर लगाइएमा असमानता घट्नसक्ने बताएको छ। यस्तै बालबालिकाको स्वास्थ्य तथा हेरचाहामा सरकारी खर्च बढाउन संस्थाले सुझाव पनि दिएको छ।