शनिबारदेखि हवाई इन्धन बोक्ने ट्यांकर चालकहरुले भारतबाट हुने आयात र आन्तरिक आपूर्ति रोकेका छन्।
प्राविधिक कारणले हुने चुवहाटको सीमासम्बन्धी व्यवस्था हटाउनुपर्ने सहितको ८बुँदे माग राख्दै ट्यांकर चालकले हवाई इन्धनको आपूर्ति ठप्प पारेका हुन्।
शुक्रबार नेपाल आयल निगमले उनीहरुको मागसम्बन्धमा वार्ता गरेको थियो।
ट्याकंर चालकले विनियमावलीमा ५० लिटरभन्दा बढीको प्राविधिक चुहावट भएमा घटेको इन्धनको दोब्बर क्षतिपूर्ति दिलाउने व्यवस्था खारेजीको माग गरेको निगमका निर्देशक तथा प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिए।
उक्त प्रावधान खारेज गनुपर्ने भनि राखिएको माग निगमले पूरा गर्न नसक्ने व्यहोरा राख्दा असन्तुष्टि जनाई चालक संघठनका प्रतिनिधिहरु वार्ता छोडी हिंडेका थिए।
‘८ सय वटा ट्यांकरमध्य १२ देखि १५ ट्यांकरमा चुहावटको समस्या छ, त्यस्तो क्यालिब्रेसनमा हुने समस्या हटाउन मर्मत गर्नुपर्छ,’ प्रवक्त गोइतले भने ‘चोरी हुँदा कारवाही गर्ने विद्यमान विनियम नै खारेज गर्न सकिदैंन भनेपछि उहाँहरु काम रोक्छौं भन्दै वार्ताबाट बाहिरिनुभयो।’
उक्त विषयलाई निगमले गम्भीर रुपमा लिएको छ।
ट्याकंर चालकहरुका न्यायोचित माग एवं सुधार सम्बन्धि सुझावहरुलाई निगमले विगतदेखि नै सकारात्मक रुपमा लिई सोहीबमोजिम माग समेत पूरा गर्दै गइरहेको बताएको छ।
‘अत्यावश्यक सेवामा हड्ताल गर्नेमाथि निमगले कारवाही गर्छ, वार्ताबाट समाधान खोज्नुको विकल्प छैन’ निगमद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हाल दैनिक ५ लाख लिटर हवाई इन्धनको माग छ।
देशका अन्य अन्तरिक विमानस्थलमा १५ देखि २० हजार लिटर हवाई इन्धनको माग छ। अरु केही दिन आपूर्ति रोके विमानस्थलमा हवाई इन्धनको अभाव हुने गोइतले बताए।
निगमले ढुवानी अवरुद्ध हुने किसिमका कुनै पनि कार्य नगर्न र हवाई इन्धनको दैनिक आपूर्ति एंव ढुवानी कार्य सरल बनाई राख्न सम्बन्धित सबैमा अपिल गरेको छ।