भुक्तानी सेवा प्रदायक ‘इसेवा’ ११औँ वर्षमा प्रवेश गरेको छ। सन् २००९ मा बेटा भर्जन रिलिज गरी २०१० जनवरी २५ बाट इसेवा सुरु भएको थियो।
एक दशकको अवधिमा मुलुकका सबै स्थानमा मोबाईल तथा इन्टरनेटको माध्यमबाट भुक्तानी गर्न सकिने सेवा दिन सफल भएको इसेवाले बताएको छ।
हालसम्म इसेवामा प्रत्यक्ष रूपमा खाता खोल्नेको संख्या करिब ३० लाख पुगेको छ। यसैगरी अप्रत्यक्ष रूपमा करिब एक करोड बढीले इसेवामार्फत सेवा लिइरहेको इसेवाले जानकारी दिएको छ।
इसेवाका देशभर करिब ८० हजार एजेन्ट (इसेवा जोन तथा पोइन्ट) रहेका छन्। इसेवाको मोबाईल एप्स् डाउनलोड गर्नेको संख्या पनि करिब २० लाख पुगेको छ।
इसेवाका प्रमुख कार्यकारी अधिकृत सुभास सापकोटाले कुराकानीका लागि मात्र सिमित भएको मोबाईललाई वित्तीय कारोबार गर्नसक्ने बनाउन सफल भएको बताए।
आगामी दिनमा हरेक नेपालीको पहुँचमा पुर्याउने गरी अगाडि बढ्ने र थप सेवाहरु विस्तार गर्दै लगिने कम्पनीको योजना छ।
इसेवाबाट मोबाईल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, रिचार्ज, हवाइजहाज, बसको टिकट, स्कुल कलेजको शूल्क लगायतका दुई हजार भन्दा बढी सेवाहरूको शूल्क भुक्तानी गर्न सकिन्छ।