सरकारले इन्धनमा कर बढाउँदा उपभोक्तालाई डिजेल तथा पेट्रोलको मूल्य नबढ्ने अर्थमन्त्रालयले बताएको छ। मन्त्रालयले दर पुनरावलोकन गर्दा बजारमा कायम उपभोक्ता मूल्यमा कुनै प्रभाव नपर्ने प्रेस विज्ञप्तिमार्फत जानकारी दिएको छ।
समायोजित स्वचालित मूल्य प्रणाली, पेट्रोलियम इन्धन पैठारीको परिमाणात्मक अवस्था, भौतिक पूर्वाधार विकासका लागि स्रोत परिचालनको आवश्यकतालाई ध्यानमा राख्दा इन्धनको मूल्य नबढ्ने मन्त्रालयले जानकारी गराएको हो।
‘निगमको स्वचालित मूल्य प्रणालीबाट कायम हुने मूल्यमा असर नगर्ने व्यवस्था मिलाइएको व्यहोरा सबैको जानकारीको लागि गराइन्छ’, जारी विज्ञप्तिमा उल्लेख छ।
अर्थमन्त्रालयका अनुसार आर्थिक ऐन, २०७६ को दफा ९ मा नेपालमा पैठारी हुने हवाई इन्धन, पेट्रोल र डिजेलमा भन्सार बिन्दुमा असुल गरिने पूर्वाधार विकास करको दरमा पुनरावलोकन गरिनुपर्ने अवस्था देखिएकोले पूर्वाधार विकास करको दर परिमार्जन गर्ने व्यवस्था गरिएको थियो।
उक्त व्यवस्थाअनुसार नै सरकारको फागुन १२ गते निर्णयले नेपालमा पैठारी हुने हवाई इन्धन, पेट्रोल र डिजेलको पूर्वाधार कर दरमा पुनरावलोकन गरिएको थियो।
समय–समयमा अन्तर्राष्ट्रिय र छिमेकी मुलुकको अवस्था हेरी व्यापारमा समस्या आउन नदिन यसअघि पनि करका दरहरूमा परिमार्जन गर्दै आएको मन्त्रालयको भनाइ छ।
‘अन्तर्राष्ट्रिय बजारमा केही समयदेखि कच्चा तेलको प्रति ब्यारेल मूल्य क्रमिक रुपमा घट्दै गएको छ। नेपालमा पेट्रोलियम इन्धनको स्वचालित मूल्य प्रणाली लागू गरिए पनि खुला सीमानाका कारण भारतीय बजारमा प्रचलित मूल्य समेतलाई आधार मानी मूल्य समायोजन गर्न जरुरत छ’, मन्त्रालयले भनेको छ।