चितवन, रत्ननगर १३ जयमंगलमका नरेस अधिकारी २० तारिकमा नेपाल एयरलाइन्सको जाहाजमा काठमाडौं उत्रिए। एयरपोर्टबाट गाडी रिजर्भ गरेर उनी सिधै चितवनतिर लागे।
उनी होम क्वारेन्टाइनमै बसेका थिए। घरी घरी ज्वरो जाच्थे र ढुक्क हुन्थे। १३ गते विहान अचानक उनको घरमा प्रहरी, जनप्रतिनिधी लगायत करिव ३० जाना आए।
वडा अध्यक्ष चित्रबहादुर भण्डारीको नेतृत्वमा आएको टोलीका चिकित्सकले सामान्य ज्वरो जाँच्यो।
ज्वरो नदेखिएपनि टोलीले उनको सपरिवारलाई एम्बुलेन्समा भरतपुर स्थित कोरोनाको बिरामी जाँच्न बनाइएको अस्पताल पठायो।
‘हामी होम क्वारेनटाइनमा छौ र ज्वरो पनि आएको थिएन। उहाँहरुले सामान्य कुरा पनि नबुझी त्यत्रो भिड आउनु भयो,’ उनले सेतोपाटीसगँ भने।
अस्पतालमा डाक्टरले लक्षण नदेखिएको मान्छे आउन नपर्ने सुझाएको उनले बताए।
जनप्रतिनिधी सचेत हुनु ठिक हो। तर घरमा ३० जाना आउनु र केही लक्षण नदेखिएको परिवारैलाई अस्पताला पठाउनु ठिक होइन,’ उनले भने ‘डाकटरले पनि यो अवस्थामा यसरी आउनु ठिक नहुने बताउनुभयो।’
वडाबासीले गुनासो गरेको कारण विदेशबाट आउनेको परिवारैलाई परीक्षण गरिएको वडा नम्बर १३का अध्यक्ष चित्रबहादुर भण्डारीले बताए।
‘जनता त्रसित भएपछि वडा नम्बर १२ र १३ मा विदेशबाट आएका प्रत्यकको घरमा गएका हौं। हामीले ८ ओटा परिवारका २८ जानालाई जाचँ गर्न पठायौ।’, उनले भने।
यी मध्य २ जानालाई ज्वरो देखिएपछि अस्पतालमै भर्ना गरिएको भण्डारीले जानकारी दिए।
एकजाना दुवइबाट आएकी महिलालाई र पोखराबाट आएकी उनकी साथीलाई ज्वरो देखिएर अस्पतालमा भर्ना गरिएको छ।
घरमा मेला नै लागेको झै मान्छे आउनु निरासाजनक भएको नरेशको गुनासो छ।
२/३ जाना आएर स्वाथ्य परीक्षण गर्न सकिन्थ्यो। मानसिक तनाव त भयो नै त्यसमाथि अस्पताल जाँदा मेरा बुढा हजुरवा हजुरआमालाई पनि जोखिम भयो,’ उनले भने।