३८ लाख ग्राहकले विद्युत महसुलमा छुट पाउने भएका छन्।
१ सय ५० युनिटसम्म विद्युत प्रयोग गर्ने ग्राहकलाई चैत महिनाको महसुलमा २० प्रतिशत छुट दिइने भएको हो।
३८ लाख ग्राहकलाई १ सय ५० युनिटसम्मको खपतमा २० प्रतिशत छुट दिँदा एक महिनामा सरकारी राजश्वमा ५० करोडको असर पर्छ।
गत आर्थिक वर्षमा विद्युत महसुलबाट ३० अर्ब रुपैयाँ उठेको थियो।
ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री वर्षमान पुन अनन्तको अध्यक्षतामा शुक्रबार मन्त्रालयमा बसेको नेपाल विद्युत प्राधिकरण सञ्चालक समिति बैठकले मन्त्रिपरिषदसमक्ष महसुल छुटका लागि सिफारिस गर्ने निर्णय गरेको हो।
कोरोना भाइरस (कोभिड–१९) को महामारी रोकथामका लागि सरकारद्वारा घोषित लकडाउनको समयमा धेरैको रोजगारी गुमेको तथा आर्थिक गतिविधि ठप्प भएको अवस्थालाई मध्यनजर गर्दै ग्राहकलाई राहत दिने निर्णय भएको हो।
एलपी ग्यास विस्थापन गरी इन्डक्सनसहित विद्युतीय चुल्हो प्रयोगमा प्रोत्साहन गर्ने उद्देश्यले सो निर्णय गरिएको ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री पुनले बताए।
ग्यासलाई इलेक्ट्रिक कुकिङमा सिफ्ट गर्ने अवसरका रुपमा महामारीलाई उपयोग गर्न सकिने उनले बताए। ‘एकातिर विद्युतको माग घटेर गएको छ भने अर्कातिर ग्यासको अभाव देखिएको छ’, मन्त्री पुनले भने ‘यो ग्यासबाट इलेक्ट्रिक कुकिङमा सिफ्ट गर्ने उपयुक्त अवसर हो।’
ग्यास बाहिरबाट आयात गर्नुपर्ने तर विद्युत नेपालकै उत्पादन भएकाले इलेक्ट्रिक कुकिङ प्रवद्र्धन गर्दा अर्थतन्त्रमै सकारात्मक असर पर्ने उनको भनाइ छ।
‘नाकाबन्दीका बेला पनि ग्यासको हाहाकार भयो । अहिले पनि अभाव देखिएको छ’, उनले भने ‘बिलुजी जस्तोसुकै संकटमा पनि आउने भएकाले स्वीच थिचेपछि खाना पाक्छ।’ सहरी क्षेत्रबाट त्यसको सुरुआत गर्न सकिने उनले बताए।