चैत ११ गतेदेखि सरकारले लकडाउन घोषणा गरेपछि देशको हिमाली तथा पहाडी क्षेत्रमा अलपत्र परेका विदेशी पर्यटकलाई उद्दार गर्ने क्रम जारी छ। हवाई तथा स्थलमार्ग हुँदै विभिन्न स्थानबाट पर्यटकलाई काठमाडौं ल्याएर विदेश पठाउने क्रम आज पनि जारी रहेको छ।
नेपाल पर्यटक बोर्डको संयोजनमा आजसम्म ९६४ जनालाई उद्दार गरी काठमाडौं ल्याइएको नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत डा धनञ्जय रेग्मीले जानकारी दिए।
पोखरा,लुक्ला,जोमशोम तथा देशका अन्य क्षेत्रमा अलपत्र परेका पर्यटकलाई सडक तथा हवाई मार्ग हुँदै काठमाडौं ल्याउने गरिएको छ। बोर्डको संयोजनमा काठमाडौं ल्याएपछि सम्बन्धित दुतावासलाई जानकारी दिने गरिएको रेग्मीले जानकारी दिए।
'पर्यटकलाई काठमाडौं ल्याएपछि पनि हामीले यहीका विभिन्न होटलमा राख्छौ। त्यसको जानकारी सम्बन्धित दुतावासलाई गराउछौ। उनीहरुले स्वदेश फिर्ता गराउने काममा सहजीकरण गर्छन्' रेग्मीले सेतोपाटीसँग भने।
उद्दार गरिएका मध्ये धेरैजसो पर्यटकहरु युरोपेली मुलुकका रहेका छन्। युरोपेली मुलुकले आफ्ना नागरिकलाई विशेष उडानको व्यवस्था गरी स्वदेश फर्काइरहेका छन्।
शुक्रबार र शनिबारमात्र तीन ओटा उडानबाट युरोपेली मुलुकका ९१२ जना पर्यटक गएका छन्। यी तीनै उडान कतार एयरवेजले गरेको थियो।
पहाडी तथा हिमाली क्षेत्रमा रहेका पर्यटकलाई उद्दार गर्ने क्रम अझै जारी रहेको रेग्मीले जानकारी दिए। आजैमात्र पोखरा,लुक्ला तथा जोमशोमबाट उद्दार गरी काठमाडौं ल्याइएको थियो।
यसरी काठमाडौं ल्याएका पर्यटकलाई स्वदेश फर्काउनका लागि उडान अनुमतिको सहजीकरण पनि पर्यटन बोर्डले गरिदने गरेको छ। यद्यपी यसमा दुतावासहरु आफैले गरिरहेका हुन्छन्।
युरोपेली मुलुकका नागरिकलाई फिर्ता लिनका लागि जर्मन दुतावासले पहल गरेको थियो। त्यस्तै अष्ट्रेलिया,अमेरिका तथा बेलायतले पनि आफ्ना नागरिक फिर्ता लिनका लागि उडान गराउने तयारी गरिरहेका छन्।