सरकारले लकडाउन अवधिमा खाद्य तथा दैनिक उपभोग्य वस्तु राहत वितरणका लागि मापदण्ड बनाउने भएको छ।
दैनिक आय गरी जीवनयापन गर्ने अति विपन्न वर्गका उपभोक्तालाई एकै किसिमले खाद्य सामग्री वितरण गर्न मापदण्ड बनाउन लागिएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले जानकारी दिए।
मन्त्री भट्टका अनुसार काठमाडौं, भक्तपुर र ललितपुर महानगरपालिकाले मापदण्ड बनाउने छ।
के सामाग्री, कति, गुणस्तर लगायतका विषय मापदण्डमा समेटिनेछन्।
वितरण गरिने राहत सामग्रीका भने साल्ट ट्रेडिङ र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले उपलब्ध गराउने छ।
मापदण्ड दुई तीन दिन भित्रमै बनाइने साल्ट ट्रेडिङका प्रवक्ता कुमार राजभण्डारीले जानकारी दिए।
‘कतिपय स्थानीय तह आ-आफैंले पहिल्यै छुट्टै पनि बनाइसकेका छन्। त्यसैलाई समग्रमा एउटा बनाउने हो,’ प्रवक्ता राजभण्डारीले भने।
बुधबार उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री हृदेयश त्रिपाठी, काठमाडौं महानगरपालिका प्रमुख, ललितपुर महानगरपालिका र मध्य भक्तपुर ठिमी नगरपालिकाका प्रमुख, साल्ट ट्रेडिङ र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडबीच खाद्य सामग्री वितरण गर्नेसम्बन्धी मापदण्ड बनाउने विषयमा बैठक बसेको थियो।