दाङको तुलसीपुर क्षेत्रमा हप्तामा तीन दिनमात्र किराना पसल खोल्न पाइने भएको छ।
अत्यावश्यक उपभोग्य वस्तु किन्नका लागि आइतबार, मंगलबार र शुक्रबार मात्रै किराना पसल खोल्न पाइने भएको हो। त्यही पनि बिहान ७ बजेदेखि ९ बजेसम्म किन्न पाइन्छ।
स्थानीय प्रहरी प्रशासन, जनप्रतिनिधि, उद्योगी व्यवसायी, राजनीतिक दलबीच भएको छलफलमा सो निर्णय भएको हो।
इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक चक्रडम्मर पालले किनमेल गर्ने बहानामा मानिसहरू असुरक्षित तरिकाले बजारमा आउने तथा मनपरी हिँडडुल गर्न थालेकोले त्यो नियन्त्रण गर्न तीन दिनमात्रै अत्यावश्यक सामग्री किन्न दिने निर्णय भएको जानकारी दिए।
विश्वव्यापी रूपमा फैलिएको कोरोनाभाइरस नियन्त्रण र रोकथामको लागि नेपाल सरकारले चैत ११ गतेदेखि देशभर लकडाउन जारी छ ।