विश्वव्यापी रूपमा कोरोना फैलिसकेपछि नेपाल सरकारले लकडाउन गरेको आज (शुक्रबार) १७ औं दिन भयो। सरकारले ३ साताका लागि लकडाउन घोषणा गरेको छ।
यस संकटकालको समयमा सरकारले आपूर्ति व्यवस्था बलियो बनाएको बताएको छ। अन्य देशको आयातमा मात्र निर्भर नरहन उत्पादनमूलक उद्योगहरूले उत्पादन गर्ने वस्तुको आधारमा अत्यावश्यक वस्तु, विकास निमार्ण तथा निर्यातयोग्य उद्योग सञ्चालन गर्ने व्यवस्था मिलाइको उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले बताए।
उनका अनुसार औद्योगिक कोरिडोरहरूमा रहेका खाद्यान्न उद्योग ४१, तेलहन उद्योग ६३, खानेपानी उद्योग ९०, दुग्ध उद्योग ५०, पशुपन्तछीको दाना उद्योग ३३, औषधि उद्योग ७३ र इंटा उद्योग ४८ प्रतिशत क्षमतामा चलेका छन्।
मास्क, स्यानिटाइजर, व्यक्तिगत सुरक्षा कवच (पी.पी.ई) लगायतका स्वास्थ्य सामग्रीको कच्चा पदार्थ आयात गरेर सम्भव भएसम्म मुलुकमै उत्पादन गर्ने सरकारको तयारी रहेको छ।
श्रमिकको स्वास्थ्य सुरक्षाको व्यवस्था गरेर ट्रेड युनियनका पदाधिकारीहरूसँग छलफल गरी अति आवश्यक वस्तुको उत्पादनमा सहयोग पुर्याउन श्रमिकलाई आव्हान गररएको उनले जानकारी दिए।
उद्योगी, व्यवसायी, खुद्रा तथा साना व्यापारी, ढुवानीकर्ता, आपूर्तिकर्ता, व्यावसायिक संघ, संगठनहरूसँग नियमित छलफल गरी आपूर्तिव्यवस्थालाई सहज बनाइएको छ।
खाद्य वस्तु बिक्री गर्ने पसल खुला राखिएको छ।
तरकारी तथा फलफूलका लागि कृषि मन्त्रालय र काठमाडौं महानगरपालिकाको समन्वयमा काठमाडौं उपत्यकाका ११ स्थानमा बिक्रीको प्रवन्ध गरिएको छ।
खाद्य व्यवस्था तथा साल्ट ट्रेडिङबाट घुम्ति सेवा दिइरहेको छ। साथै नेपाल फुड डटकम बाट अनलाईन डेलिभरी सेवा सञ्चालन गरिएको छ।
पेट्रोलियम पदार्थको दैनिक आपूर्ति भइरहेको छ। आइतबारबाट बजारमा पुरा सिलिण्डर ग्यास बिक्री वितरण गर्न उद्योगीलाई निर्देशन दिइएको छ।
विपन्न तथा दैनिक ज्यालादारी गर्ने मजदुरलाई स्थानीतहको समन्वयमा राहत वितरणको व्यवस्था मिलाइएको छ।
चैत २६ गतेबाट तातोपानी नाका सञ्चालनमा आयबाट केही मास्क र स्यानिटाइजर नेपाल भित्रिएका छन्। भारत सरकारले चैत २४ देखि लागू हुने गरी २४ वटा औषधिजन्य पदार्थको निर्यातमा लगाएको प्रतिबन्ध फुकुवा गरिएको छ।
हाल सरकारी र निजी क्षेत्रसँग गरेर १ लाख २५ हजार २ सय ९० मेट्रिक टन चामल, ७ हजार २ सय ९४ मेट चिनी, १ लाख ५८ हजार ९ सय ९० मेट नुन, १६ हजार ८१ मेट गेडागुडी र दाल तथा १६ हजार ८ सय ६८ मेट तेल मौज्दात रहेको छ।
त्यस्तै, उद्योगहरूसँग चामल ४ महिना, दलहन ३ र तेलहन ३ महिनाको माग धान्न सक्ने मौज्दात रहेको छ।
लकडाउन शुरु भएको १७ दिनसम्ममा ३७ हजार ३ सय ३४ मेट खाद्यान्न, १४ हजार ५४ मेट गेडागुडी तथा दलहन, २१ हजार ६ सय २६ मेट तरकारी, ५ हजार ९ सय ६२ मेटफलफूल ८० मेट दुग्धजन्य पदार्थ १० करोड ८७ लाख ७ हजार रुपैयाँबराबरको औषधिको कच्चा पदार्थ र ५६ करोड ९७ लाख २७ हजार रुपैयाँ बराबरको तयारी औषधि आयात भएको मन्त्रालयले बताएको छ।