चालु आर्थिक वर्षको आर्थिक वृद्धिदर २.२७ प्रतिशतमा सीमित हुने केन्द्रीय तथ्थांक विभागले प्रक्षेपण गरेको छ।
कोरोना महामारीका कारण सरकारी लक्ष्यको तुलनामा वृद्धिदर न्यून हुन पुगेको विभागको भनाइ छ।
विश्वव्यापी आर्थिक सुस्तता आएको र नेपालका प्राय सबै क्षेत्रले यसको मार खेप्ने भन्दै यो वर्ष २.२७ प्रतिशतको वृद्धिदर मात्र सम्भव हुने विभागको अनुमान छ।
योसँगै यो वर्ष नेपालको अर्थतन्त्र ३२ खर्ब ९ अर्बको पुग्ने अनुमान विभागले गरेको छ।
त्यस्तै नेपालीको प्रतिव्यक्ति आय पनि १ हजार ८५ अमेरकी डलर पुग्ने विभागले अनुमान गरेको छ। अघिल्लो वर्ष नेपालीको प्रतिव्यक्ति आय १ हजार ३९ अमेरिकी डलर थियो।
अघिल्लो वर्षको वृद्धिदर ६.७ प्रतिशत मात्र थियो।
विश्वव्यापी महामारी तथा यसको रोकथामका लागि अपनाइएको लकडाउनले अर्थतन्त्रका सबै क्षेत्रमा प्रहार गर्ने विभागले अनुमान गरेको छ।विभागले पर्यटन क्षेत्र बाहेक अरु छिट्टै सूचारु हुने अनुमान छ।
अर्थतन्त्रमा २७.०७ प्रतिशत हिस्सा भएको कृषि क्षेत्रको वृद्धिदर केही सीमित हुने छ। यद्यपी कृषि क्षेत्र ऋणात्मक नहुने विभागको अनुमान छ। यो वर्ष २.४८ प्रतितले कृषि क्षेत्रमा मूल्य अभिबृद्धि हुने विभागले अनुमान गरेको छ।
धानको उत्पादनमा आएको कमी, आपूर्ति प्रणाीमा अवरोध हँदा तरकारी तथा मासु, दूध उत्पादन तथा उपभोगमा केही कमी आउने छ। गहुँ तथा फलफूल बालीमा सामान्य वृद्धि हुने विभागको अनुमान छ।
त्यस्तै उद्योग क्षेत्रको वृद्धिदर यो वर्ष ऋणात्मक हुने विभागको अनुमान छ।
उत्पादन, उपभोग तथा आपूर्तिमा कमी आउँदा समग्र क्षेत्रकै २.२७ प्रतिशतले घट्ने विभागले अनुमान गरेको छ। उद्योग क्षेत्रको कुल गार्हस्थ्य उत्पादनमा ५.०९ प्रतिशत योगदान रहेको छ।
निर्माण क्षेत्रको मूल्य यो वर्ष घट्ने छ। अघिल्लो वर्षको तुलनामा ०.३१ प्रतिशतले घट्ने विभागले अनुमान गरेको छ। खुद्रा व्यापार २ प्रतिशतले बढे पनि होटल तथा रेष्टुरेन्ट क्षेत्रकाे वृद्धि १६ प्रतिशतले घट्ने छ।
पर्यटन ठप्प तथा आवागमन प्रभावित भएपछि यातायात तथा सञ्चार क्षेत्रमा पनि २ प्रतिशतले कमी आउने विभागले अनुमान गरेको छ।
विभागले वित्तीय मध्यस्थता सेवा, रियल स्टेट तथा भाडा व्यापार, स्वास्थ्य तथा शिक्षा क्षेत्रमा केही वृद्धि हुने अनुमान गरेको छ।