पछिल्ला महिनामा मूल्यवृद्धि उकालो लागेको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको यस आर्थिक वर्षको ९ महिनाको वित्तीय स्थितिअनुसार चैत महिनामा मूल्यवृद्धि अर्थात मुद्रास्फीतिको दर ६.७४ प्रतिशत छ। गत वर्षको चैतमा यस्तो दर ४.४४ प्रतिशत रहेको थियो।
साउनदेखि चैतसम्मको औसत मूल्यवृद्धि ६.७४ प्रतिशत छ। जुन मूल्यवृद्धि सरकारले लक्ष्य गरेभन्दा बढी हो। यस आर्थिक वर्षमा साढे ६ प्रतिशतभित्र मूल्यवृद्धि सीमित राख्ने सरकारको लक्ष्य थियो।
यस अवधिमा खाद्य तथा पेय पदार्थ समूहको मूल्यवृद्धि ९. ६८ प्रतिशत र गैर खाद्य तथा सेवा समूहको मूल्यवृद्धि ४.४८ प्रतिशत छ।
समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत तरकारी, फलफूल, मसला र दाल तथा गेडागुडी उपसमूहको मूल्य वृद्धि उच्च रहेको छ।
गैर–खाद्य तथा सेवा समूहअन्तर्गत शिक्षा, स्वास्थ्य र लुगा तथा जुत्ता उपसमूहको मूल्य केही बढेको छ। क्षेत्रगत रुपमा हेर्दा काठमाडौं उपत्यकामा मूल्यवृद्धि सबैभन्दा उच्च छ।
काठमाडौं उपत्यकामा ७.१९ प्रतिशत, तराईमा ७.०४ प्रतिशत, पहाडमा ५.८४ प्रतिशत र हिमालमा ४.८३ प्रतिशत मुद्रास्फीति रहेको छ।
२०७५ चैतमा यी क्षेत्रहरुमा क्रमशः ४.७४ प्रतिशत, ३.९५ प्रतिशत, ४.८० प्रतिशत र ६.२० प्रतिशत मुद्रास्फीति रहेको थियो।