विश्वव्यापी माहामारीको कारण चैत ११ देखि नेपालमा लकडाउन सुरु भयो।
लकडाउनसँगै अत्यावस्यक बाहेक सबै क्षेत्र बन्द भए। यही मौका छोपी सडक विभागले काठमाडौँमा आफ्नो काम धमाधम अगाडि बढायो।
अत्याधिक सवारीसाधनको कारणले सामान्य समयमा गर्न नसकिएको सडक मर्मत तथा निमार्णका कामहरु पनि लकडाउनको समयमा सजिलै गरिएको सडक डिभिजन काठमाडौंका प्रमुख कुवेर नेपालीले जानकारी दिए।
४१ किलोमिटरको लक्ष्य रहेकोमा हालसम्म ४० किलोमिटर पिचमा ओभर ले गरिसकिएको उनले जानकारी दिए।
‘हामीले कुल लक्ष्य ४१ किलोमिटर मध्ये लकडाउनमा मात्रै १४ किलोमिटर ओभरले सक्यौं। त्यस्तै यो हप्ताभित्र अरु ४ किलोमिटर सक्छौ,’ उनले सेतोपाटीसगँ भने।
त्यस्तै डिभिजनले लकडाउनमै डेढ किलोमिटर नयाँ कालोपत्रे गरिसकेको छ भने अरु तीन किलोमिटरको सबै काम सकिएर कालोपत्रे गर्न मात्र बाकीँ रहेको नेपालीले जानकारी दिए।
सडक डिभिजनले ओभर लेसगैँ रोड मार्किङको काम पनि अघि बढाएको छ।
डिभिजनले ओभर ले गरिएका सडकमध्ये ३ किलोमिटर बाहेक सबै ठाउँमा मार्किङ गरिसकेको नेपालीले बताए।
पुतलीसडक आसपासमा करिव डेढ किलोमिटर ढल निमार्ण सम्पन्न भएपनि कच्चा पदार्थ ल्याउन नपाउँदा कालोपत्रेको काम गर्न नसकिएको उनले गुनासो पोखे।
‘टिकाभैरव, काभ्रे लगायतको खानी बन्द छ। त्यसैले थप काम गर्न मुस्किल छ,’ उनले भने ‘कच्चा पदार्थ पाएको खण्डमा हामीलाई काम गर्न कठिन छैन।’