अर्थमन्त्री डा. युवराज खतिवडाले अरु गाडी भन्दा विद्युतीय निजी सवारी साधनको भन्सार महशुल अझै पनि ५० प्रतिशत कम रहेको बताएका छन्।
संसदमा बजेटमाथि भएको छलफलका क्रममा उठेका प्रश्नहरूको जवाफ दिँदै डा. खतिवडाले पहिले कमजोर वर्गले उपयोग गर्न सक्नेदेखि सम्पन्न वर्गले उपयोग गर्ने सम्मको विद्युतिय सवारी साधन एउटै रेट भएकोले भन्सारका दरहरु परिमार्जन गरिएको बताए।
हाल विद्युतीय सवारी साधनलाई ६ प्रकारमा वर्गिकरण गरिएको र त्यहीअनुसार नै भन्सार कर र अन्तशुल्क परिमार्जन गरिएको उनले स्पष्ट पारे।
‘हामीले महंगा – महंगा विद्युतीय सवारी साधन आयात गर्दा विद्युतको खपत त बढाउला तर विदेशी मुद्रा त हामी धेरै खर्च गर्छौ नी। त्यो पनि त हेर्नु पर्यो,’ उनले भने ‘ अर्थतन्त्रका समग्र पक्षलाई हेर्दा यतीसम्म छुट दिइयो भने विद्युतीय सवारी साधनको प्रयोगमा प्रोत्साहन पनि हुन्छ र विदेशि मुद्राको पनि अस्ववाभिक खर्च हुँदैन र राज्यलाई अप्ठेरो पनि पर्दैन भन्ने हिसाबले अघि बढ्न खोजिएको हो।’
अझैपनि सार्वजनिक विद्युतीय सवारी साधनमा लगाइएको १ प्रतिशत मात्र भन्सार कायमै राखिएको उनले स्पस्ट पारे।