नेपाली काँग्रेसका सांसद सञ्जय गौतमले सरकारले बजेटबाट आकर्षक नारा दिने तर काम नगरेको आरोप लगाएका छन्।
व्यवस्थापिका संसदको बैठकमा बोल्दै गौतमले भौतिक पूर्वाधारका ठूला ठूला योजना बजेटबाट घोषणा गर्ने तर त्यसको रकम अन्यत्रै दुरुपयोग गर्ने प्रचलन पछिल्लो समय बढेको आरोप लगाएका छन्।
'अघिल्लो वर्षको बजेटमा पूर्वपश्चिम राजमार्गका लागि १९ अर्ब बजेट विनियोजन गरियो। तर काम कहाँ के भएको छ ? सबैले देखेकै छन्। ११ किलोमिटर खण्डमा बाहेक काम केही भएको छैन। यसरी विनियोजन गरेको रकम अन्यत्र लिएर दुरुपयोग भइरहेको छ' उनले भने।
यो सरकारले सपनामात्र बाँड्ने काम गरेको तर काम कुनै पनि नगरेको उनले आरोप लगाए।
सरकारी संयन्त्र अदुरदर्शि हुँदै गएकाले कुनै पनि विकास निर्माणका आयोजना अघि बढ्न नसकेको र यस्तै प्रवृत्ति जारी रहे देशमा गरिबी तथा अविकाश झन् बढ्ने उनले बताए।
'गएको एक वर्षभित्र पाँचपटक खरिद कानून संसोधन भयो। छैटौपटक संसोधनका लागि अघि बढेको छ। यो कस्तो राज्य संयन्त्र हो। जसले तीन महिनापछिको अवस्था पनि मूल्यांकन गर्नसक्दैन। कानूनमात्र संसोधन गर्ने यस्तो गैरजिम्मेवार शासन पनि कहि हुन्छ?' उनले प्रश्न गरे।