नेपालको इकर्मस कम्पनी सस्तोडिल डटकममा अब डोल्मा इम्प्याक्ट कोषको लगानी थपिने भएको छ। कोषले सस्तोडिलमा एक मिलियन डलरको अतिरिक्त लगानी गर्ने भएकोे हो।
हाल चलिरहेको लगानी जुटाउने काम अन्तर्गत सस्तोडिलले अन्य शेयरधनीहरू सँगसँगै डोल्मा इम्प्याक्ट फण्डबाट पनि कोष संकलन गरेको हो। उक्त लगानी कम्पनीको वार्षिक आम्दानी आगामी १८ महिनामा एक अर्ब रुपैयाँ पुर्याउने 'माइलस्टोन' लक्ष्य हाासिल गर्न प्रयोग गरिनेछ।
लकडाउनको क्रममा नयाँ ग्राहकको संख्या झन धेरै बढ्दै गएको सस्तोडिलका निर्देशक एवं सिइओ अमुन थापाले बताए।
थापाले भने,‘सरकारको नीति अनुसारमा लकडाउनमा ग्राहकलाई आवश्यक सामग्री पुर्याउन हामीले सरकारको एक हिस्सा भएर काम गरेका थियौं। अहिले लकडाउन सहज हुँदै गइरहेको बेला पहिलेभन्दा माग झन् बढेको छ किनकी अब नयाँ ग्राहकहरू अनलाइन सपिङ बारेमा धेरै जानकार भइसकेका छन्।’
डोल्मा इम्प्याक्ट कोष, नेपालमा पहिलो अन्तर्राष्ट्रिय निजी इक्विटी कोष लगानीकर्ताको रूपमा परिचित छ। उक्त कोष वृद्धिले उत्पादनको वर्गीकरण, नयाँ प्रतिभालाई स्थान, कोर अपरेसन, विक्रेता सशक्तीकरण र नेपालका अन्य क्षेत्रहरूमा सेवा विस्तार लगायतका क्षेत्रहरूलाई समेट्ने थापाले बताए।
काठमाडौं बाहिरका उपभोक्तालाई मध्यनजर गर्दै थापाले भने, ‘लकडाउनको बेलामा काठमाडौं उपत्यका भित्रका ग्राहकहरूलाई सेवा सीमित गर्नुपर्यो। यसर्थ यस लगानीले हामीलाई काठमाडौंभित्र र बाहिरका दुवै उपभोक्ता र व्यवसायी माझमा सेवा लिएर जान मद्धत गर्नेछ।’
कम्पनीका सिसिओ अमितेश रायका अनुसार यो साझेदारी नेपालका लागि 'गेम चेन्जर'को रूपमा स्थापित हुनेछ। रायले भने, ‘हामी आशा गर्दछौं कि यस घोषणाले सम्पूर्ण नेपाली उत्साहित हुनेछन्।’