साझा यातायातले सार्वजनिक यातायात सञ्चालन गर्ने तयारी थालेको छ।
नेपाल सरकारको निर्णयअनुसार विभिन्न मापदण्ड पूरा गरेर यातायात सेवा सञ्चालनको तयारी थालेको सञ्चालक समितिका सदस्य भूषण तुलाधरले जानकारी दिए।
‘अहिले गाडी मर्मत सम्भारको काम भइरहेको छ र गाडीका चालक सहचालकहरूलाई पनि बोलाएका छौं। सकियो भने १ गतेदेखि नै गाडी चलाउने तयारीमा छौं,’ तुलाधरले सेतोपाटीसँग भने।
सरकारको निर्देशन अनुसार सामाजिक दूरी कायम गरी, चालक सहचालकलाई पन्जा, मास्क, सेनिटाइजर अनिवार्य प्रयोग गर्न लगाई गाडी सञ्चालन गरिने उनले बताए।
यात्रुले पनि अनिवार्य मास्क प्रयोग गर्नुपर्ने र सिटमा सामाजिक दूरी कायम गरिने तुलाधरले जानकारी दिए।
साझाका सबै गाडी एकैपटक सञ्चालन भने नहुने उनले स्पष्ट पारे।
‘धेरै चालक–सहचालक उपत्यकामा हुनुहन्न। अहिले आइहाले पनि केही दिन काममा पठाउँदैनौं। सीमित स्टाफबाट सीमित रुटमा गाडी चलाउने तयारी छ,’ तुलाधरले भने, 'अझै केही समय यात्रुको चाप कम हुने देखिन्छ त्यसकारण हामी पहिले एउटा रुटमा जति गाडी गुड्थ्यो त्यो संख्यालाई घटाउँछौं।’
दैनिक रूपमा गाडीलाई डिस्इन्फेक्सन गरेर मात्रै गाडी सञ्चालन गरिने उनले जानकारी दिए।