ठमेल क्षेत्रका घरधनीहरुले व्यवसायी र घरधनी दुबैले जितेको महसुश गरे मात्र ठमेल जिवित रहने बताएका छन्।
हालको जस्तो विषम् परिस्थिती कहिल्यै नआएकोले दुवै पक्षले एक कदम पछाडि नहटि सम्झौता गर्नुपर्ने ठमेल टुरिजम कोन्सिलका उपाध्यक्ष भविश्वर शर्माले बताए।
‘धरधनी र व्यवसायी दुवै एकआर्काको सारथी हुन्। दुवै पक्षले जितेको अनुभव गर्नेगरी सम्झौता गरेमात्र ठमेललाई फेरी जिवित बनाउन सकिन्छ,’ उनले भने।
ठमेलको बारेमा धेरै नकारात्मक हल्ला फिजिएको भन्दै करिव ९५ प्रतिशत घरधनी र व्यवसायी बीच घरभाडाको समझदारी भइसकेको उनको दावी छ।
‘हामीले कसैलाई घरभाडामा यति छुट दिनु भन्न मिल्दैन। आपसी समझदारीमा कुरा मिलाउनु भएको छ,’ उनले भने।
ठमेलका व्यवसायी र घरबेटीको समस्या घरभाडा मात्रै नभएको व्यवसायी राजुमान डंगोलले बताए।
बैंकको व्याजदर, इन्टरनेट, विद्युत, टेलिफोन, लगायतमा छुट नदिए अधिकांश व्यवसायी व्यवसायबाटै पलायन हुने अवस्था आएको उनले बताए।
‘यी विषय हेर्दा सानो लाग्छ तर यसको खसर भने गम्भिर छ। ठमेलको पर्यटन व्यवसाय र व्यवसायीलाई जोगाउन सरकारले यी कुरामा ध्यान दिनुपर्छ,’ डंगोलले भने।