पूर्वी चितवन १३२ केभी सबस्टेसन निर्माण सम्पन्न भएको छ।
चितवनका रत्ननगर, खैरहनी, राप्ती र कालीका नगरपालिकाको विद्युत् आपूर्तिलाई गुणस्तरीय र विश्वसनीय बनाउन पूर्वी चितवन सबस्टेसन निर्माण गरिएको हो ।
निर्माण सम्पन्न भएपछि मकवानपुरको हेटौडाबाट चितवनको भरतपुरतर्फ गएको १३२ केभी प्रसारण लाइनबाट प्रवाह भएको विद्युत्लाई पूर्वी चितवन सबस्टेसन भित्र छिराएर बाहिर निकाली सफलतापूर्वक चार्ज गरिएको नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए।
हेटौडा–भरतपुर प्रसारण लाइनबाट प्रवाह भएको विद्युतलाई त्यस क्षेत्रमा आपूर्ति गर्न पूर्वी चितवन सबस्टेसन निर्माण गरिएको हो।
‘सबस्टेसन राखिएका १३२/३३ केभी, ३० एमभीएका दुईवटा पावर ट्रान्सफर्मरमध्ये एउटा नो लोडमा चार्ज गरिएको छ, अब त्यसलाई लोड दिएर चार्ज गरिने छ’,कार्यकारी निर्देशक घिसिङले भने।
‘त्यहाँबाट स्थानीय उपभोक्तालाई विद्युत् आपूर्तिका लागि ३३/११ केभी, १६.६ एममीए पावर ट्रान्सफर्मर आइतबार चार्ज गरिएको छ, सबस्टेसन स्वचालित प्रणालीको संचालन र ११ केभी फिडरबाट एकहप्ताभित्र विद्युत् वितरण गर्ने लक्ष्यका साथ काम गरिरहेका छौं।’
उनले भने ‘सबस्टेसन संचालनमा आएपछि प्राविधिक चुहावट करिब ४/५ प्रतिशत घट्ने, ग्राहकले पनि पर्याप्त विद्युत् पाउने र प्रसारण क्षमताले नधानेर गर्मीमा बाध्यकारी लोडसेडिङ गर्नुपर्ने अवस्थाको पनि अन्त्य हुने बताए।
अहिले भरतपुरमा रहेको १३२ केभी सबस्टेसनबाट करिब २१ किलोमिटर ३३ केभी लाइनमार्फत ३३/११ केभी चैनपुर सबस्टेसनमार्फत चितवनको पूर्वी क्षेत्रमा विद्युत् आपूर्ति भइरहेको छ।
लामो लाइन र क्षमताले नधान्दा लाइन चुँडिने, ट्रिपिङ हुने, लो भोल्टेज र विद्युत्को प्राविधिक चुहावटको समस्या थियो। पूर्वी चितवन सबस्टेसनबाटै विद्युत् आपूर्ति हुन थालेपछि भरतपुर सबस्टेसनको लोड पनि काम हुनेछ।
नेपाल सरकारको लगानीमा राप्ती नगरपालिका–६ हर्दीमा सबस्टेसनको निर्माण भएको हो। आयोजनाको अनुमानित लागत ५४ लाख अमेरिकी डलर छ।
गत चैत भित्रमा संचालन गर्ने लक्ष्य राखिएको सबस्टेसनको निर्माण विश्वभर महामारीको रुपमा फैलिएको कोभिड–१९का कारण प्रभावित हुँदा केही ढिला भएको हो।
स्थानीय रुपमा विद्युत् आपूर्तिका लागि हर्दीबाट पर्सा सबस्टेसनसम्म करिब १० किलोमिटर ३३ केभी डबल सर्किट प्रसारण लाइन र ११ केभी वितरण लाइन पनि निर्माण गरिएको छ।