नेपालमा विदेशी लगानी ल्याउन सहजरीकरणका लागि स्थापना गरेको लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत(सिइओ) छनौटको प्रक्रिया सुरु भएको छ।
सिइओ छनौटका लागि गठन भएको समितिले अहिले सर्टलिस्ट तयार पारेर अन्तर्वार्ताको मिति तय गरेको छ। अन्तर्वार्ताका आधारमा अर्थमन्त्री संयोजकत्वको समितिले तीन जनालाई नियुक्तीका लागि मन्त्रिपरिषदमा सिफारिस गर्ने छ।
समितिले तयार पारेको सर्टलिस्ट सार्वजनिक नभएपनि चर्चामा आएका केही प्रतिस्पर्धीहरु छन्।
यसमा राष्ट्रिय योजना आयोगका वर्तमान सदस्यदेखि पुर्ननिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृतसम्मका व्यक्तीहरु छन्।
योजना आयोगका सदस्य सुशिल भट्ट यो प्रतिस्पर्धामा छन्। इन्जिनियरिङ, व्यवस्थापन तथा योजनाको क्षेत्रमा शिक्षा तथा अनुभव भएका भट्ट सिइओको प्रतिस्पर्धामा छन्। उनीसँग बैंकिङ क्षेत्रको अनुभवदेखि योजना आयोगमै योजना निर्माणको अनुभव छ।
सहरी विकासको क्षेत्रमा सरकारी सेवाकोसमेत अनुभव भएका सुशिल ज्ञवाली अहिले पुर्निर्माण प्राधिकरणको प्रमुख कार्यकारी अधिकृत छन्।
यो प्रतिस्पर्धामा डा सरोज कोइराला पनि छन्। वैदेशिक लगानी सम्बन्धि औपचारिक अध्ययन तथा शोध गरेका कोइराला हाल प्रदेश १ ले गठन गरेको लगानी प्रवर्द्धन प्राधिकरणको नेतृत्वमा छन्। उनी यसअघि महाप्रसाद अधिकारी सिइओ छनौट हुँदा पनि अन्तिम तीनमा पुगेका थिए।
त्यस्तै रामकृष्ण खतिवडा यसअघि लगानी बोर्डमै परामर्शदाताको रुपमा काम गरिसकेका हुन्। त्यस्तै यसअघि नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत रहेका दीपकराज जोशी पनि चर्चामा छन्।