साउन २० देखि सुरु भएको नेपाल एडुफेयरमा विद्यार्थीको आकर्षण बढेको बताइएको छ। सो फेयरमा अहिलेसम्म ५० हजार विद्यार्थीले भिजिट गरिसकेका छन्।
एसईई परीक्षा दिएर ११ को भर्नाको तयारीमा रहेका विद्यार्थीलाई लक्षित गरेर परामर्श दिन फेयरको आयोजना गरिएको हो।
‘अहिलेसम्म ५० हजारले भिजिट गरेका छन्,’ फेयरका संयोजक सुरेश सिम्खडाले भने, ‘नेपाल एडुफेयरबाट विद्यार्थीले परामर्श लिइरहेका छन्। कुन कलेज पढ्ने? कुन विषय पढ्ने? करियर बनाउन के गर्ने? कुनकुन विषयको महत्व कस्तो छ? लगायतका परामर्श विद्यार्थीले घरमै बसेर पाएका छन्।’
स्कलरशीपका लागि अहिलेसम्म १६ हजार विद्यार्थीले फारम भरेका छन्। नेपाल एडुफेयर डटकम भिजिट गरेर विद्यार्थीले स्कलरशीपका लागि फारम भरेका हुन्।
संयोजक सिम्खडाले भने, ‘स्कलरशीपका लागि फारम भर्ने क्रम जारी छ। आर्थिक अवस्था कमजोर भएका, जेहन्दार तथा भौगोलिक क्षेत्रको आधारमा ३५ जना विद्यार्थीका लागि १ करोडको स्कलरशीप दिन्छौँ। यो स्कलरशीप प्राप्त गर्ने विद्यार्थीले कक्षा ११ र १२ पूर्ण रुपमा निःशुल्क अध्ययन गर्न पाउँछन्। स्कलरशीपका लागि विद्यार्थीले लिखित परीक्षा दिनुपर्ने हुन्छ र लिखितमा उत्कृष्ट गर्ने विद्यार्थीहले अन्तरवार्तामा सहभागि हुन पाउँछन्।’
सिम्खडाकाअनुसार लिखित र मौखिक परीक्षा तथा एसईईमा प्राप्त गरेका ग्रेड र उसको पारिवारिक अवस्था लगायतका मापदण्डलाई आधार बनाएर स्कलरशीप प्रदान गरिन्छ।
स्कलरशीपका लागि फारम भरेका विद्यार्थीको परीक्षा पनि सुरु भएको छ।
बिहीबारदेखि काठमाडौंका विभिन्न कलेजबाट अनलाइनको माध्यमबाट स्कलरशीपको फारम भरेका विद्यार्थीको परीक्षा लिन सुरु गरिएको हो। परीक्षाको नतिजा भदौको पहिलो साता सार्वजनिक गरिने बताइएको छ।
स्कलरशीपको परीक्षामा सहभागी विद्यार्थी पनि उत्साहित छन्।
‘नेपाल एडुफेयर फेसबुकबाट थाहा पाएर फारम भरेको हुँ,’ अनलाइन परीक्षामा सहभागी सर्लाहीका अरुण बुढाथोकीले भने, ‘अहिले काठमाडौं आउने स्थिति छैन। त्यसैले अनलाइनबाट नै परामर्श र परीक्षा दिएको हुँ।’
सर्लाहीकै जानकी सिंहले पनि स्कलसिपका लागि परीक्षा दिएकी छन्। ‘परीक्षा राम्रो भएको छ। नतिजा पनि राम्रै आउँछ। आर्थिक अवस्था कमजोर भएका तर पढ्न चाहेका विद्यार्थीका लागि यो राम्रो अवसर हो,’ उनले भनिन्।
सिन्धुलीका वीरविक्रम श्रेष्ठ पनि खुसी छन् । ‘अनलाइन परीक्षा राम्रो भयो । सेलेक्ट भएको भनेर म्यासेज पनि आयो । धेरै जनासँग प्रतिस्पर्धा गर्नु छ । स्कलरसिप पाएँ भने पढ्न निक्कै सजिलो हुनेछ ।’ उनले भने ।
स्कलरशीपका लागि फारम भरेका विद्यार्थीलाई अनलाइनबाट परीक्षा र अन्तर्वार्ता लिन सुरु गरिएको हो ।
‘विद्यार्थी उत्साहित छन्। हिजो परीक्षा दिएँ। आज अन्तर्वार्ता भयो। विद्यार्थीसँगै अभिभावकसँग पनि हामीले आवश्यक छलफल गरिरहेका छौं।’ टेक्सास इन्टरनेसनल एजुकेसन नेटवर्कका बिजनेस डेभलपमेन्टका निर्देशक नारायण पोखरेलले भने, ‘विद्यार्थीको अतिरिक्त गतिविधिको सर्टिफिकेट भयोे भने स्कलरशीपका लागि थप सहयोग हुन्छ।’
काठमाडौं मोडेल कलेज बालकुमारीका प्रिन्सिपल सुरेन्द्र सुवेदीले उपत्यकाभन्दा बाहिरबाट धेरै विद्यार्थी सहभागी भएको बताए। ‘विद्यार्थीहरू उपत्यकाभन्दा बाहिरका छन्। स्कलरशीप पाइने भएकाले उत्साहित भएका हुन्। तर अहिले सवारी चलेको छैन। कतै स्कलरशीप गुम्ने त होइन भन्नेमा उनीहरू चिन्तित छन्। विद्यार्थीहरू राम्रो कलेज र पढाइको खोजीमा छन्,’ उनले भने।
नेपाल एडुफेयर ३२ साउनसम्म चल्ने जानकारी दिइएको छ।