विभिन्न देशका लगानीकर्ताले नेपालमा होटल खोल्नका लागि ३ अर्ब ७४ करोड रूपैयाँ लगानी प्रस्ताव गरेका छन्। लगानीकर्ताले आर्थिक वर्ष २०७७/०७८ को पहिलो महिनामा उद्योग विभागमार्फत् सो रकम बराबरको लगानी प्रस्ताव गरेका हुन्।
कुल वैदेशिक लगानीको आधाभन्दा बढी होटल क्षेत्रमा प्रस्ताव आएको छ। १८ होटल क्षेत्रमध्ये १६ मा चिनीयाँ लगानीकर्ताको प्रस्ताव आएको विभागको तथ्यांकले देखाएको छ। होटल सञ्चालनका लागि चिनीयाँ लगानीकर्ताले ३ अर्ब ६५ करोड रूपैयाँ लगानी गरेका छन्।
त्यस्तै, बेलायती लगानीकर्ताले २ उद्योगमा ९ अर्ब ९९ करोड रूपैयाँ लगानी प्रस्ताव गरेका छन्।
चालू आवको पहिलो महिनामा चीन, भारत, बेलायत तथा दक्षिण कोरियाका लगानीकर्ताले ३३ वटा परियोजनामा कुल ६ अर्ब १५ करोड लगानी प्रस्ताव गरेका छन्।
त्यसमध्ये चिनीयाँ लगानीकर्ताले २८ वटा परियोजनामा ३ अर्ब ९१ करोड रूपैयाँ प्रस्ताव गरेका छन्। चिनीयाँ लगानीकर्ताको १६ वटा होटल क्षेत्रमा लगानी प्रस्ताव गरेका छन् भने बाँकी सेवा क्षेत्रमा लगानी प्रस्ताव गरेका छन्।
भारतीय लगानीकर्ताले २ वटा परियोजनामा १० करोड रूपैयाँ लगानी प्रस्ताव गरेका छन्। त्यस्तै दक्षिण कोरियाले स्यानिटाइजर उद्योग खोल्न ५ करोड रूपैयाँ लगानी प्रस्ताव गरेको छ।