बजारमा पठाइएको पिउने पानीको बोत्तलमा किरा भेटिएपछि बुटवलको कर्माचार्य मिनरल एण्ड बेभरेज इण्डष्ट्रिजमा शिल गरिएको छ।
उक्त इण्डष्ट्रिजले उत्पादन गरी बजारमा पठाएको माउन्ट कैलाश नामको खानेपानीको बोत्तलमा किरा भेटिएको थियो।
पानीको बोत्तलमा किरा भेटिएपछि उपभोक्ता हित संरक्षण मञ्च तथा गुणस्तर तथा नापतौल कार्यालय भैरहवाले इण्डष्ट्रिजमा अनुगमन गर्दा मापदण्ड विपरित पानी बोटलिङ र प्याकेजिङ भइरहेकाे देखेपछि सिल गरेको हो।
गुणस्तर तथा नापतौल विभाग रुपन्देहीका प्रमुख बिमलकुमार दाहालले खानेपानी प्रशोधन सम्बन्धी निर्देशिका विपरित पानी बोत्तलमा भरेर बजारमा पठाउने गरिएकोले उक्त कम्पनीलाई सिल गरिएको जानकारी दिए।
खानेपानीजस्तो दैनिक जीवनसँग जोडिएको वस्तुमा समेत लापरबाही गरी पानी प्याकिङ गरेर बजार पठाउने गरेको पाइएकोले सिल गरिएको उनले बताए।
खानेपानी प्रशोधन सम्बन्धी निर्देशिकामा पानी बोटलिङ गर्दा अटोमेटिक मेसिनबाट गर्नुपर्ने र उक्त स्थान उज्यालो र सफा हुनुपर्छ। तर उक्त उद्योगले अटोमेटिक मेसिन जडान गरे पनि हातले बोत्तलमा पानी भरेर प्याकिङ गर्ने गरेको उनले बताए।
त्यस्तै खानेपानी प्रशोधन गर्दा केमिकलको प्रयोग नगरी मेसिनबाटै प्रशोधन तथा निर्मलीकरण गर्नुपर्नेमा उक्त कम्पनीले केमिकल राखेर प्रशोधन गरेको पाइएकोले अहिलेलाई खानेपानी विक्री गर्न नपाउने गरी सिल गरिएको जानकारी दिए। खानेपानी प्रशोधनका लागि प्रयोग गरिएको केमिकल मानिसको स्वास्थ्यको लागि हानीकारक मानिन्छ।
इण्डष्ट्रिजले उत्पादन गरेर उपभोक्तामा पठाएको मिनरल वाटरको शिलबन्दी गरिएको बोत्तलमा किरा भेटिएपछि उपभोक्ता हित संरक्षण मञ्च र गुणस्तर तथा नापतौल कार्यालयले कम्पनीको अनुगमन तथा पानी परीक्षण गरेका हुन्।
पानी परीक्षण गर्दा पिउनयोग्य नभएको पाइएको दाहालले बताए। एकजना उपभोक्ताले पिउनको लागि पसलबाट सोमबार खरिद गरेको उक्त बोत्तलमा खजुरो जातिकाे एउटा माउ किरा लगायत दर्जन बढी बच्चा भेटिएका थिए।
उक्त कम्पनीले गत जुलाई महिनामा उत्पादन गरेको ब्याच नं एफ रहेको बोत्तलमा किरा भेटिएपछि गुणतस्तर तथा नापतौल कार्यालयमा उजुरी गरेका थिए।
लकडाउनकाे समयमा बजार अनुगमन फितलो हुँदा खानेपानीजस्तो महत्वपूर्ण र मानिसको जीवनसँग प्रत्यक्ष जोडिएको वस्तुमा उद्योगीले खेलवाड गरेको उपभोक्ता अधिकारकर्मीको भनाइ छ।
उपभोक्ता हित संरक्षण मञ्चका प्रदेश ५ संयोजक तेजकुमार पाठकले बजार अनुगमनलाई चाडपर्वमा मात्र केन्द्रित गर्दा उपभोक्ता ठगिने गरेको बताए ।