ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री वर्षमान पुनले विदेशी लगानीकर्तासँग मिलेर जलविद्युतमा लगानी गर्न स्वदेशी लगानीकर्तालाई आग्रह गरेका छन्।
मन्त्री पुनले विदेशी लगानीकर्तासँग मिलेर ऊर्जा उत्पादनमा लाग्ने स्वदेशी लगानीकर्तालाई नीतिगत रुपमै सरकारले स्वागत, प्रोत्साहन र संरक्षण गर्ने उल्लेख गरे।
विदेशी लगानीकर्तासँग काम गर्दा घरेलु लगानीकर्ताले दक्षता वृद्धि, प्रविधि र अनुभव तथा व्यापारिक ज्ञान हासिल गर्नसक्ने विश्वास मन्त्री पुनको थियो।
‘जलविद्युतको क्षेत्रमा लाग्नुभएका स्वदेशी लगानीकर्तालाई मेरो यो आग्रह छ कि तपाईंहरु विदेशी लगानीकर्तासँग मिलेर काम गर्नुस्’, स्वतन्त्र ऊर्जा उत्पादक संघ (इपान) को नव निर्वाचित कार्यसमितिलाई बधाई दिन मन्त्रालयमा मंगलबार आयोजित कार्यक्रममा मन्त्री पुनले भने, 'विदेशी लगानीकर्तासँग कामगर्दा क्षमताको प्रविधिको र अनुभवको आदान प्रदान हुन्छ।’
मन्त्री पुनले वर्तमान सरकार र ऊर्जा मन्त्रालयको नेतृत्वले जलविद्युत क्षेत्रकालागि लगानीमैत्री वातावरण बनाएको दावी गरे।
उनले इमान्दार लगानीकर्ताका लागि मन्त्रालय र सरकारले सधैं सहजीकरणको काम गरिरहेको र गर्ने स्पष्ट पारे।
विगतमा लोडसेडिङ अन्त्य गर्ने ऊर्जा मन्त्रालय र विद्युत प्राधिकरणको एक मात्र लक्ष्य भएपनि अब ऊर्जामा आत्मनिर्भरतासँगै आन्तरिक र बाह्यबजार व्यवस्थापन गर्नुपर्ने चुनौती थपिएको मन्त्री पुनले बताए।
आगामी वर्षभित्रै नेपालमा कूल जलविद्युत क्षमता कम्तिमा २६ सय मेगावाट पुग्ने भन्दै उनले मन्त्रीका रुपमा आफ्ना अगाडि बजारको व्यवस्थापन कसरी गर्ने भन्ने चुनौती खडा भएको उल्लेख गरे।
कार्यक्रममा ऊर्जा मन्त्रालयका सचिव दिनेशकुमार घिमिरेले ठूला आयोजनामा लगानी गर्न निजी क्षेत्रलाई आग्रह गरे।
घिमिरेले मन्त्री पुनले मन्त्रालयमा आएपछि जारी गरेका श्वेतपत्रका धेरै काम सम्पन्न हुने चरणमा पुगेको बताए।
तीन वर्षमा तीन हजार र पाँच वर्षमा पाँचहजार मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य निर्धारण भएकामा तीन वर्षमा तीनहजारको लक्ष्य करिब पुरा हुने चरणमा पुगेको उल्लेख गरे।
इपानका नवनिर्वाचित अध्यक्ष कृष्णप्रसाद आचार्यले लगानीकर्ताको सम्मान र संरक्षणमा सरकारको ध्यान जानुपर्ने सुझाव दिए।
निजी क्षेत्रले निर्माण गरेका जलविद्युत आयोजना ३० वर्षपछि सम्पूर्ण हिसाबले सरकारको हुने भएकाले पनि आफूहरुको संरक्षणमा सरकार चुक्न नहुने उनको भनाई थियो।