अर्थमन्त्री डा युवराज खतिवडाले विश्वा बैंकका दक्षिण एशिया क्षेत्रका उपाध्यक्ष हार्टविग सेफर समक्ष नेपालको अर्थतन्त्रमा बृद्धिदर बाहेक सबै परिसूचकहरु ठिक भएको जानकारी गराएका छन्।
आज भएको भर्चुअल छलफलका क्रममा कोभिड १९ को कारण नेपालको पर्यटन, उत्पादनमूलक उद्योग र निर्माण क्षेत्र बढी प्रभावित भएकोले वृद्धिदर न्यून हुन गएको भए पनि आर्थिक वृद्धि बाहेकका अन्य समग्र आर्थिक परिसूचकहरु सकारात्मक रहेको खतिवडाले उल्लेख गरेका थिए।
प्रतिकूलताका वावजुद मुद्रास्फ्रिति ६ प्रतिशतको हाराहारीमा रहेको, चालू खाता घाटा कुल ग्रहास्थ उत्पादनको २ प्रतिशतमा सीमित रहेको, शोधनान्तर बचत अमेरिकी डलर १.६ अर्ब भन्दा बढी नै रहेको, सरकारको संचित खाता (ट्रेजरी) घाटामा नगएको, वित्तीय क्षेत्र सुदृढ रहेका कारण आर्थतन्त्रमा स्थायीत्वको प्रश्न नउठेको जानकारी गराएका थिए।
उक्त भेटको क्रममा खतिवडाले कोरोना रोकथामका सवालमा विश्व बैंकले तत्काल सहयोग गरेकोमा धन्यवाद दिंदै अबका दिनमा जोखिम न्यूनीकरण तथा आर्थिक पनरुत्थानका लागि थप सहयोगको अपेक्षा राखेको अर्थमन्त्रालयद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ।
विश्व बैकका उपाध्यक्ष सेफरले पोर्टफोलियो कार्यान्वयनमा नेपालको प्रगति पूर्व निर्धारित लक्ष्यको तुलनामा राम्रो रहनुको साथै दक्षिण एशियाली क्षेत्रमै उत्कृष्ट भएकोमा धन्यवाद दिएको मन्त्रालयले जानकारी दिएको छ।
'उहाँले कोभिड १९ को नकारात्मक प्रभावका बावजुद माननीय मन्त्रीज्यूको नेतृत्वमा नेपालको समग्र अर्थतन्त्र सकारात्मक रहेकोमा उच्च प्रशंशा गर्नु भयो। विभिन्न अवरोधका बावजुद नेपालले प्राप्त गरेको सफलता अनुकरणीय उदाहरणको रुपमा वोर्डमा प्रस्तुत गरिने योजना रहेको जानकारी गराउनु भयो' मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
बैंकका उपाध्यक्षले नेपाल जस्ता कम विकसित मुलुकहरुले सामना गरिरहेको आर्थिक श्रोतका अभाव परिपूर्ति गर्न हालको आईडा श्रोत अपर्याप्त हुने र सो वृद्धि गर्न तथा वित्तीय ऋणको तिर्नुपर्ने साँवा व्याज स्थगनको अवधि सन् २०२१ सम्म बढाउन पहल गरिरहेको जानकारी गराएका थिए।