कुलेश्वर क्षेत्रमा सञ्चालित जय माँ दुर्गा ट्रेडर्सको खाद्य सामग्री विक्रीमा रोक लगाइएको छ।
काठमाडौं महानगरकी उपमेयर हरिप्रभा खड्गी श्रेष्ठको नेतृत्वमा गएको उपभोक्ता हित संरक्षण समितिको अनुगमन टोलीले ढुवानी तयार गरिएको ५ बोरा हरियो केराउ, २ सय बोरा केराउ, १ सय बोरा चालम र २० बोरा भटमास विक्रीका लागि रोक लगाएको हो।
उत्पादकको नाम, उत्पादन मिति, मूल्यलगायत आधारभूत विवरणसमेत नराखी २ सय सादा पहेँलो बोरामा विक्रीका लागि राखिएका केराउ, उत्पादन मिति मेटिएका बालाजी प्याकेजिङका करिब १ सय बोरा आजतक ब्राण्डका चामल र क्यानडाबाट आयात गरिएको २० बोरा भटमास लगायतका सामानको गुणस्तर, व्यापार मापदण्ड, कर भुक्तानी, व्यवसाय दर्ता र नविकरण भएको प्रमाण सहितका कागजात पेश नगरुञ्जेलका लागि विक्रीमा प्रतिबन्ध लगाइएको हो।
ट्रेडर्सले पिकअप गाडीमा राखेर यस्तै सामान बनेपाको एविसि खाद्य स्टोरमा पठाउन लागेको थियो। खाद्य सामग्रीमा हुनुपर्ने आधारभूत मापदण्ड नभएकाले अनुगमनकै क्रममा ती सामान ट्रेडर्सको गोदाममा फिर्ता गराइएको थियो।
त्रुटी पाइएकोले ट्रेडर्सलाई कारबाही गरिने कृषि विभागका प्रमुख हरिबहादुर भण्डारीले बताए।
कृषि विभागका प्रमुख हरिबहादुर भण्डारीले भने, ‘लेबल नटाँसिएका, टाँसे पनि अक्षर मेटिएका र नबुझिने, ढक तराजु, पसलको दर्ता नविकरण अद्यावधिक नगरिएका, कर चुक्तालाई नियमित गर्न बाँकी भएको जस्ता समस्या धेरै जसोमा देखिएका छन्। यी सबैलाई कारबाहीको दायरामा ल्याउँछौं।’
महानगरको उपभोक्ता हित समितिले अहिले तरकारी, खाद्य, दूग्ध पदार्थ तथा मासुजन्य सामग्रीको बजार अनुगमन गरिरहेको छ। यस अघि कालीमाटी र बल्खु तरकारी बजारको अनुगमन गरिएको थियो।