निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्ने स्थानमा हालसम्म ५७ हजार रुख तथा विरुवा गणना भएको छ। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले मंसिरसम्म १९ सय हेक्टर क्षेत्रफलको सबै रुख गणना सकाउने घोषणा गरेको छ।
संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्री योगेश भट्टराईको अध्यक्षताम निजगढ अन्तर्राष्ट्रिय विमानस्थल आयोजना निर्माणका लागि अन्तर निकाय समन्वय, सहजीकरण समितिको बैठकमा सो प्रगति विवरण पेस भएको मन्त्रालयले जानकारी दिएको छ।
मंसिर मसान्त भित्र रुख तथा पोलहरुको लगत नम्वरीङको काम सम्पन्न गरिसक्ने उक्त समितिले निर्णय गरेको छ।
बैठकले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण क्षेत्रमा पर्ने आयोजनास्थलमा अवस्थित टाँगिया बस्ती स्थानान्तरणका लागि २०७६ माघ २ गतेको निर्णयानुसार भूमि, व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयका सह सचिवको संयोजकत्वमा गठित समितिले स्थलगत रुपमा निरीक्षण गरी वस्ती व्यवस्थापनका लागि स्थानसहितको मोडालिटी तयार गरी १५ दिनभित्र समितिसमक्ष प्रतिवेदन पेश गर्ने निर्णय गरेको छ।
विमानस्थलको गुरुयोजना निर्माणका लागि परामर्शदाता छनौटको काम एक महिनाभित्र सम्प्न गरिसक्ने समितिले निर्णय गरेको छ।
विमास्थल विकास निर्माणका लागि छनौट भएको जुरिच इन्टरनेशनल कम्पनीसँग निरन्तर संवाद र पत्राचार गरी सेप्टेम्वर ३० भित्र अन्तिम निर्णय लिन लगानी बोर्डलाई निर्देशन दिने उक्त समितिले निर्णय गरेको मन्त्रालयले जानकारी दिएको छ।