कोरोना भाइरस महामारीका कारण विकासशील एसिया क्षेत्रको आर्थिक बृद्धिदर ६ दशककै खराब अवस्थामा पुगेको छ। सन् १९६० को दशक पछिकै न्यून बृद्धिदरमा खुम्चिएको एसियाली विकास बैंकले जानकारी दिएको छ।
सन् २०२०मा यो क्षेत्रको आर्थिक बृद्धिदर ०.७ प्रतिशतमा खुम्चिने बैंकले प्रक्षेपन गरेको छ। यो बृद्धिदर सन् १९६२ पछिकै न्यून हुनसक्ने बैंकका प्रमुख अर्थशास्त्री यसुयुकी स्वाडाले बताएका छन्।
यो वर्ष चीनको अर्थतन्त्र १.९ प्रतिशतले बढ्ने प्रक्षेपन गरिएको छ। महामारी नियन्त्रण गर्दै अर्थतन्त्रले लय लिएकाले गएको जुनमा गरिएको प्रक्षेपनलाई यथावत राखिएको छ। सन् २०२१ मा चीनको अर्थतन्त्र ७.७ प्रतिशतले बढ्ने अनुमान बैंकले गरेको छ।
भारतमा भने लकडाउनका कारणले गर्दै निजी खर्च तथा लगानीमा संकुचन आएका कारण कूल ग्राहस्थ उत्पादनको बृद्धिदर ऋणात्मक हुने प्रक्षेपन गरिएको छ। बैंकले भारतीय अर्थतन्त्र यो वर्ष ९ प्रतिशतले घट्ने अनुमान गरेको छ। पहिलो त्राइमासमा भारतीय अर्थतन्त्र २३.९ प्रतिशतले ऋणात्मक भएको थियो।
त्यस्तै थाइल्यान्ड तथा फिलिपिन्सको अर्थतन्त्र पनि ७.३ र ८ प्रतिशतले खुम्चिने बैंकको प्रक्षेपन छ।
यो क्षेत्रको आर्थिक बृद्धिदर सन् २०२१ मा ६.८ प्रतिशतले बढ्नसक्ने बैंकले अनुमान गरेको छ।
न्यून माग तथ पेट्रोलियम पदार्थको मूल्यमा आएको गिरावटका कारणले गर्दा सन् २०२० मा मुद्रास्फ्रिति भने २.९ प्रतिशतमा सिमित हुने बैंकले प्रक्षेपन गरेको छ।