एसियाली विकास बैंकले चालु वर्ष नेपालको कूल ग्राहस्थ उत्पादन १.५ प्रतिशतले बढ्ने प्रक्षेण गरेको छ। बैंकले आज सार्वजनिक गरेको डेभलपमेन्ट आउटलुकमा गएको वर्षको पछिल्लो तीन महिनामात्र कोभिडले असार पारेकाले केही सुदृढ बृद्धिदर देखिएपनि यो वर्ष भने घट्ने अनुमान गरेको हो।
गएको वर्ष २.३ प्रतिशतले अर्थतन्त्र विस्तार भएको अनुमान गरिएको छ।
बैंकले चालु वर्ष रेमिट्यान्स घट्न गइ कमजोर आर्थिक अवस्था भएका जनताहरु प्रभावित हुने र त्यसको असर निजी खर्चमा पर्न गइ बृद्धिदर खुम्चिने अनुमान गरेको छ। समग्रमा माग न्यून हुँदा सरकारी राजश्व घट्न जाने तथा खर्च पनि घट्दा बृद्धिदर प्रभावित हुने छ।
पुँजी परिचलान तथा लगानीका हिसाबले गएको वर्ष नै कमजोर देखिएको नेपालको अर्थतन्त्र यो वर्ष झनै प्रभावित हुनसक्ने बैंकले जानकारी दिएको छ। पर्यटन उद्योग अझै पुनरुत्थान हुने सम्भावना न्यून रहेकाले यसको मार पनि अर्थतन्त्रमा पर्ने छ।