नेपाल आयल निगमको बागमती प्रादेशिक कार्यालय थानकोटले निगमको गुणस्तर विनियमावली विपरीत मिसावट गर्ने चालकलाई तत्काल पक्राउ गरी प्रचलित कानुन बमोजिम कारवाही गर्नको लागि जिल्ला प्रशासन कार्यालय काठमाडौंलाई पत्राचार गरेको छ।
बिहीबार निगमको बागमती प्रादेशिक कार्यालय थानकोटमा ईन्डियन आयल कर्पोरेसनको बरौनी टर्मिनलबाट २० किलो लिटर पेट्रोल लोड भई आएको निगमका ढुवानीकर्ता प्रमेश कुमार श्रेष्ठको ना४ख ७२५६ नम्बरको टैंकट्रकमा रहेको पेट्रोल डिपोमा खाली गर्नुपूर्व गुणस्तर विनियमावली बमोजिम गुणस्तर चेकजाँच गर्ने क्रममा मिसावट भएको भेटिएकोले कारबाही गर्न पत्राचार गरेको हो।
टैंकट्रकको ५ वटा चेम्बरमध्ये (कोठा) २ वटा चेम्बरको पेट्रोलमा मिसावट गरिएको पाइएको थानकोट डिपो प्रमुख प्रदिप यादवले जानकारी दिए।
उक्त टैंकट्रकलाई खाली नगरी डिपोमा राखिएको छ। साथै उक्त टैंकट्रकमा मिसावट भएको विषयमा निगमले थप अनुसन्धान कार्य अगाडि बढाई निगमको प्रचलित विनियमावली बमोजिम ढुवानीकर्तालाई कारबाही प्रक्रिया समेत अगाडि निगमले जानकारी दिएको छ।