सरकारले विगत ६ महिनादेखि बन्द रहेका मध्यम तथा लामो दुरीका सवारीसाधन संचालन गर्ने अनुमती दिएपनि यात्रु भने नगन्य रुपमा मात्र रहेका छन्।
बिहिबार विहान ६ बजेदेखि शुक्रबार विहान ६ बजेसम्म ३ हजार ७ सय ७२ ओटा सवारीसाधनमा जम्मा ९ हजार ४ सय जनाले उपत्यका छोडेको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता रामेश्वर यादवले जानकारी दिए।
यादवका अनुसार सोही अवधीमा ३ हजार ५ सय ६ ओटा सवारी साधनमा ८ हजार ८ सय ४ जाना उपत्यका प्रवेश गरेका छन्।
यात्रुको स्वास्थ्यलाई मध्यनजर गर्दै चेकिङलाई व्यापक बनाइएको उनले बताए।
‘स्वास्थ्य मापदण्ड, भाडा र सामाजिक दुरी लगायतको निगरानी बढाएका छौं। अहिलेसम्म त्यस्तो कार्य गरेको भेटिएको छैन,’ यादवले सेतोपाटीसगँ भने।
धेरै मान्छेले पहिले काठमाडौं छोडेको र थोरै मात्र भित्रिएको कारण यात्रुको संङ्ख्यामा कमी आएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासघंका महासचिव सरोज सिटौलाले बताए।
‘अहिले विद्यार्थी छैनन्, साना व्यवसाय गर्ने छैनन, धेरै जना त दसैं पछि मात्र काठमाडौं फर्किने मनस्थिति बनाएर बसेकाले अहिले यात्रुको चाप कम भएको हो,’ उनले भने।
गाउँ फर्किन चाहानेहरु पनि त्रसित भएकोले सरकारले जनताको मनोबैज्ञानिक त्रास हटाउने काम गर्नुपर्ने उनको तर्क छ।
त्यस्तै, अहिले गाडी चलाउँदा यातायात व्यवसायीलाई कमाईहुने स्थिति नरहेको सिटौलाले बताए।
‘व्यवसायीले अहिले स्टाफलाई खर्च, गाडी मर्मत र इन्धन खर्चमात्र पुर्याउन सकेका छन्। यात्रु र स्टाफलाई सहज होस भनेर मात्र गाडी चलाएका हौं,’उनले भने।