लामो तथा मध्यम दूरीका सार्वजनिक यातायातबाट यात्रा गर्दा खाना/खाजा घरबाटै प्याकिङ गरेर लैजान यातायात व्यवस्था विभागले आग्रह गरेको छ।
यात्राको क्रममा जथाभावी खाना र खाजा खाँदा, सवारी साधनमा चढ्दा/झर्दा कोभिड-१९ संक्रमणको जोखिम बढ्नसक्ने भन्दै विभागले यस्तो अनुरोध गरेको हो।
त्यस्तै सडक वरिपरि सञ्चालनमा रहेका होटल रेष्टुरेन्टले यात्रुलाई स्वच्छ खाना खाजा प्याकिङ गरी उपलब्ध गराउने व्यवस्था मिलाउन विभागको अपील छ।
विगत ६ महिनादेखि बन्द रहेको मध्यम तथा लामो दूरीको सार्वजनिक सवारी साधनलाई सरकारले गत असोज १ गतेदेखि चल्न अनुमति दिएको थियो।