नेपालमा इजरायली कृषि प्रविधि भित्र्याउन सात वटै प्रदेशमा ‘एग्रिकल्चर सेन्टर अफ एक्सिलेन्स’ स्थापना गर्नेसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ।
बुधबार नेपाल र इजरायलबीच सो समझदारीपत्रमा हस्ताक्षर भएको इजरायलका लागि नेपाली राजदूत डा. अन्जान शाक्यले जानकारी दिएकी छन्।
सो समझदारीपत्रमा नेपालको तर्फबाट इजरायलका लागि नेपाली राजदूत शाक्य र इजरायलको तर्फबाट इजरायली परराष्ट्रमन्त्री गावी अस्केनाजीले हस्ताक्षर गरेका हुन्।
इजरायली अन्तर्राष्ट्रिय विकास साझेदार संस्था (मसाभ) को उपस्थितिमा इजरायली परराष्ट्र मन्त्रालयमा आयोजित एक कार्यक्रमबीच सो समझदारीपत्रमा हस्ताक्षर सम्पन्न भएको हो।
नेपालको तर्फबाट हस्ताक्षर गर्न असोज ११ गते बसेको मन्त्रिपरिषद्ले निर्णय गरेर राजदूत शाक्यलाई अनुमति दिइसकेको थियो।
गत मंसिरमा राजदूत शाक्यको पहल र नेपाल सरकारको निमन्त्रणामा मसाभ प्रमुख गील हासकेलको टोली नेपाल भ्रमणमा आएको थियो।
पाँच दिनको नेपाल बसाइँपछि स्वदेश फर्किएको सो टोलीले नेपाल बसाइँका क्रममा प्रधानमन्त्रीसँगै परराष्ट्र, अर्थ, शिक्षा, कृषि, स्वास्थ्य र ऊर्जामन्त्री लगायतसँग भेट गरेको थियो।
विश्वका १ सय बढी मुलुकका विज्ञहरूलाई तालिम र सीप विकासको तालिमसँगै प्रविधि हस्तान्तरण गर्दै आएको सो संस्था इजरायलको स्थापनासँगै इजरायलको विकासका लागि खोलिएको हो।
मसाभले नेपालमा एग्रिकल्चर, स्मार्ट ग्रिड सेन्टर अफ एक्सिलेन्स विथ सोलुसन र सेन्टर अफ एक्सिलेन्स इन एजुकेसन, साइन्स, कल्चर एण्ड स्पोर्ट गरी सरकारसँग सम्झौताका लागि प्रक्रिया अघि बढाएको थियो।
राजदूत शाक्यले आफूले जिम्मेवारी सम्हालेर इजरायल आएदेखि नै यो विषयमा निरन्तर पहल गरेको र आज सफलता प्राप्त गरेको जानकारी दिइन्।
समझदारीपत्रमा हस्ताक्षर भएसँगै अब नेपालमा कृषि पूर्वाधार निर्माणले तीव्रता पाउने शाक्यको भनाइ छ।
‘कृषि प्रधान देश नेपालका लागि यो ठूलो उपलब्धी हो,’ राजदूत शाक्यले भनिन्, ‘यो सम्झौतासँगै अब स्वदेश र विदेश दुबैमा नेपाली युवाका लागि रोजगारीका अवसर प्राप्त हुनेछन् भने नेपाललाई कृषिमा आत्मनिर्भर हुन यो प्रविधि हस्तान्तरले ठूलो योगदान दिने अपेक्षा छ।’
उनले पूर्वाधार निर्माणका सिलसिलामा कृषि क्षेत्रमा उल्लेख्य रोजगारीका अवसर सिर्जना भई नेपाली युवाहरूको विदेशिने क्रममा समेत कमी आउने अपेक्षा गरेको जानकारी दिइन्।
त्यसैगरी, बुधबार नै नेपाल र इजरायलबीच ‘इजरायलको विशिष्ट श्रम बजारमा नेपाली कामदारको अस्थायी रोजगारीसम्बन्धी सम्झौता’ मा हस्ताक्षर सम्पन्न भएको पनि राजदूत शाक्यले जानकारी दिइन्।
योसँगै अब इजरायली श्रम बजार नेपालीका लागि खुला भएको छ। यसले केयर गिभर क्षेत्र, कृषि क्षेत्र, होटल–रेष्टुरेष्ट, निर्माण लगायतका क्षेत्रमा नेपालीलाई रोजगारीको अवसर दिलाउने अपेक्षा गरिएको छ।
दूतावासले कार्यान्वयन चरणमा गएलगत्तै प्रत्येक क्षेत्रका लागि श्रमिक भर्नाको प्रक्रिया सुरू हुने पनि जानकारी दिएको छ। त्यसका लागि पनि छिट्टै सम्झौता हुने दूतावासले जानकारी दिएको छ।