अपि पावरले हकप्रद सेयर जारी गर्ने भएको छ।
जलविद्युत सम्बन्धी व्यवसाय गरिरहेको यस कम्पनीको हालको अधिकृत पुँजी ५ अर्ब, जारी पुँजी ४ अर्ब र चुक्ता पुँजी १ अर्ब १९ करोड छ।
गत आर्थिक वर्षसम्म कम्पनीको नेटवर्थ १३६ करोड रहेको छ। जगेडा कोष तथा संचित नाफामा १७ करोड तथा प्रतिशेयर आम्दानी ८ रुपैयाँ ०४ पैसा छ।
कम्पनीले ४० मेगावाट क्षमताको तेस्रो जलविद्युत आयोजना माथिल्लो चमेलिया निर्माणमा लगानी गर्नका लागि शेयरधनीहरुबाट पुँजी जुटाउन हकप्रद शेयर जारी गर्ने भएको हो।
कम्पनीले नेपाल धितोपत्र बोर्डबाट असोज १८ गते हकप्रदका लागि स्वीकृत प्राप्त गरेको छ। गत फागुन ३० गतेसम्म कायम साविक शेयरधनीहरुका लागि १ शेयर बराबर नयाँ ०.४७६१९०४७६१९ को अनुपातमा प्रति शेयर एक सय अंकित दरको ५६ लाख ७० हजार कित्ता हकप्रद साधारण शेयर निश्कासन गर्ने भएको हो।
आगामी कात्तिक १४ देखि मंसिर ४ गतेसम्म हकप्रद सेयर जारी हुने कम्पनीले जनाएको छ। दार्चुलामा अपि हिमाल र मार्मा गाउँपालिका भई वहने चमेलिया नदीको पानी उपयोग गरी ४० मेगावाट क्षमताको उर्जा उत्पादन गर्ने कम्पनीले जनाएको छ।
यसको बिजुली १६ किलोमिटर लामो १३२ के.भी. ट्रान्समिसन लाइनमार्फत प्राधिकरणको वलाँच सवस्टेशनमा ल्याई राष्ट्रिय ग्रिडमा जोडिनेछ।
यस आयोजनाबाट वार्षिक २६ करोड ४१ लाख युनिट विद्युत उत्पादन हुनेछ। उत्पादित विद्युत मध्ये ३० प्रतिशत हिउँदका ६ महिनामा र बाँकी ७० प्रतिशत वर्षाका ६ महिनामा उत्पादन हुने कम्पनीले जनाएको छ।
यस आयोजनाको विद्युत बिक्रीबाट प्रथम वर्ष १ अर्ब ६२ करोड आय आर्जन हुनेछ। यस आयमा ८ वर्षसम्म वार्षिक ३ प्रतिशतका दरले वृद्घि हुँदै जाने कम्पनीको प्रक्षेपण छ।
यस आयोजना निर्माणका लागि जम्मा ७ अर्ब ४० करोड लगानी लाग्ने अनुमान गरिएको छ। कम्पनीले कुल लागत मध्ये ३० प्रतिशतले हुने रकम २ अर्ब २२ करोड आफ्ना शेयरधनीहरुलाई हकप्रद शेयर जारी गरी २ चरणमा रकम संकलन गरेर लगानी गर्ने योजना लिइएको छ।
बाँकी ७० प्रतिशतले हुने रकम ५ अर्ब १८ करोड हिमालयन बैंक लिमिटेडको अगुवाईमा क्रमशः कर्मचारी संचय कोष, राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंक लिमिटेड, नेपाल बङ्गलादेश बैंक लिमिटेड र सेञ्चुरी कमर्सियल बैंक सहभागितामा वित्तीय व्यवस्थापन सम्झौता भएको छ।
यसअघिका आयोजना
कम्पनीले आफ्नो लगानी तथा बैंक ऋणबाट दार्चुला जिल्लामा वहने नौगड गाढ नदीको पानी उपयोग गरी प्रथम आयोजनाको रुपमा ८.५ मेगावाट क्षमताको नौगड गाढ जलविद्युत आयोजना निर्माण सम्पन्न गरी २०७२ भदौ २ देखि राष्ट्रिय ग्रिडमा प्रवाह भइरहेको छ।
कम्पनीले दोस्रो आयोजनाको रुपमा सोही नदीको पानी उपयोग गरी ८ मेगावाट क्षमताको अपर नौगड गाढ जलविद्युत आयोजना २०७६ साल कात्तिक १३ गतेबाट व्यापारिक उत्पादन गरी राष्ट्रिय ग्रिडमा प्रवाह गरिरहेको छ।
कम्पनी द्वारा संचालनमा रहेका यी दुवै आयोजनाबाट उत्पादित विद्युत नेपाल विद्युत प्राधिकरणको अत्तरीया–वलाँच १३२ के.भी. ट्रान्समिसन लाइन मार्फत प्रवाह भइरहेको छ।