सन २०१५ जुन १५ मा भुटानको राजधानी थिम्पुमा भुटानसहित, नेपाल, बंगलादेश र भारतका यातायात मन्त्रीहरुले बिबिआइएन मोटर्स भेइकल सम्झौतामा हस्ताक्षर गरेका थिए।
यो सम्झौताको उद्देश्य थियो चार देशमा व्यापार सहजीकरण गरेर अघि बढ्ने। सम्झौतामा हस्ताक्षर गरे पनि भुटान भने त्यसबाट पछि हट्यो। भुटानको संसदबाट त्यो पारित नै भएन।
पारित नभए पनि नेपाल भारत र बंगलादेश मिलेर बिआइएन मोटर्स भेइकल सम्झौता गर्ने निर्णय गरे। यसको मुख्य उद्देश्य कार्गो र प्यासेन्जर सर्भिसलाई कसरी ३ देशसम्म जोड्न सकिन्छ भन्ने थियो।
सम्झौता भएको ३ वर्षपछि २०१८ को अप्रिलमा ३ देशका अधिकारी ट्रायल बस सर्भिसका रूपमा बंगलादेशबाट भारत हुँदै नेपाल आएका थिए। सम्झौता भएको ५ वर्षसम्म यो कार्यान्वयनमा आएको छैन।
कार्यान्वयन नहुँदा नेपालले के के कुरा गुमाएको छ, यस विषयमा हामीले नेपाल भारत उद्योग वाणिज्य महासंघका उपाध्यक्ष सुनिल केसीसँग कुराकानी गरेका छौं।
एसियन इष्टिच्युट अफ डिप्लोमेसी एण्ड इन्टरनेसनल अफेयर्स (एआइडिआइए)का संस्थापक समेत रहेका केसीसँगको कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत छः
१, यो सम्झौता कार्यान्वयनमा आउन नसक्नुको कारण के जस्तो लाग्छ?
अब बाँकी भनेको नेपाल मात्रै हो। भारत र बंगलादेशबीच सहमति कार्यान्वयन भइसकेको अवस्था छ। ट्रायल बस सर्भिसपछि दुवै देशका संसदबाटै यस सहमति पारित भएको थियो। नेपालबाट भने भएको छैन। सम्झौता कार्यान्वयनमा आउन नसक्नुको मुख्य कारण भनेको यस विषयमा अध्ययन नै नभएर हो जस्तो मलाई लाग्छ।
नेपाली अधिकारीले यस सम्झौता कार्यान्वयन गर्दा के फाइदा हुन्छ के घाटा हुन्छ भनेर अध्ययन नै गर्न सकेका छैनन।
२, सम्झौता कार्यान्वयनमा नआउँदा नेपाललाई के कस्तो घाटा आइपर्यो होला त ?
हेर्नु, अब नेपाल सधैं व्यापारमा भारतसँग मात्रै वा चीनसँग मात्रै निर्भर हुनुपर्यो। नेपालले तेस्रो मुलुकसँग व्यापार गर्न नपाउँदा मूल्यमा प्रतिस्पर्धा गर्ने कुरै आएन। हामीले उत्तर र दक्षिण नाकालाई मात्र हेरिरहेका छौं।
अन्य स्थान हेर्न सकिरहेका छैनौं। त्यो हाम्रो ठूलो कमजोरी हो। फराकिलो बनाउनु पर्छ। अध्ययन गर्नुपर्छ। फाइदा बेफाइदा केलाउनु पर्छ। कहाँबाट फाइदा हुन्छ त्यहाँ बढी ध्यान केन्द्रित गर्नुपर्छ।
भारतको उत्तरी क्षेत्र पनि बंगलादेशसँग निर्भर छ। कारण के भन्दा तेस्रो देशसँग आयात निर्यात गर्न नै हो। भारतमै सामुद्रिक पोर्ट छ। त्यहाँबाट व्यापार गर्दा यसैलाई लागत बढी पर्न जान्छ।
नेपाललाई त बंगलादेशले २० वर्षअघि नै चिरागन पोर्ट र मोङला पोर्ट प्रयोग गर भनेको हो। तर नेपालले ध्यान दिएको छैन। बंगलादेशसँग हाम्रो दुरी पनि नजिक छ। अवसर भएर पनि बंगलादेशसँग हामीले व्यापारमा धेरै कुरा गुमाइरहेका छौं।
३, बंगलादेशले नेपालमा जलविद्युत पनि लगानी गर्ने चाहना देखाएको थियो, त्यसमा पनि नेपाल चुक्यो भन्छन् नि?
नेपाल र बंगलादेशबीच १६ सय मेगावाट विद्युत आयोजना निमार्ण गर्ने भनेर अगष्ट १० सन २०१८ मा सम्झौता नै भएको थियो। बंगलादेशको चाहना नेपालको पूर्व क्षेत्रमा बनाउने भन्ने थियो। बंगलादेशले १६ सय मेगावाटको आयोजना गर्ने तर दुई स्थानमा गर्ने भनेर प्रस्ताव राखेको थियो।
त्यसमा १ खर्बको लगानी गर्ने प्रतिबद्धता बंगलादेशले जनाएको थियो। पछि नेपालले चासो नै देखाएन। त्यसमा बंगलादेशले पनि बिप्पा सम्झौता गरेर मात्र आयोजना बघि बढाउन सकिने भनेर शर्त राख्यो। बंगलादेशका सन् २०३५ सम्ममा ३४ हजार मेगावाट विद्युत चाहिने आकलन गरिएको छ।
अहिले त्यहाँ २१ हजार ५ सय मेगावाट विद्युत उत्पादन हुन्छ। बंगलादेशले नेपालमा लगानी गर्न त्यहाँ रहेका २ वटा निजी कम्पनीलाई अनुमति पनि दिइसकेको छ। ती कम्पनीले पनि विप्पा सम्झौता नभइ लगानी गर्न नसकिने जनाइराखेका छन। दुइटा कम्पनीले पनि नेपालमा करिब १ खर्ब लगानी गर्ने प्रस्ताव अघि सारेका थिए।
४, नेपाल भारत र बंगलादेशबीच जल यातायातमा कत्तिको सम्भावना देख्नुहुन्छ ?
संभावना छ। भारत बंगलादेशले सन १९७२ देखि मिलेर वाटरवेजमा काम गररहेका छन्। नेपालले पनि किन नगर्ने? नेपालले पनि यी देशसँग सहकार्य गर्न सक्छ। भारत र बंगलादेशसँग यस विषयमा धेरै अनुभव छ। नेपालले सप्तकोशी र नारायणी नदी प्रयोग गरी यी देशसँग सहकार्य गर्न सक्छ।
भारतले नेपाललाई तीनवटा जलमार्ग प्रयोग गर्न अनुमति दिइसकेको छ। जसमा कोलकत्ता कालुघाट, जो रक्सौलसँग नजिक छ। अर्को कोलकत्ता साहेवगन्ज जो विराटनगरसँग नजिक छ।
तेस्रो भने कोलकत्ता बनारसी हो। यसबाट पनि रक्सौल नजिक पर्छ। यी तीन जलमार्ग प्रयोग गरेर हामी नजिकको भारतीय नाकासम्म सामान सहज रुपमा ल्याउन सक्छौं र त्यहाँ चाँडै नेपाल ल्याउन पनि निकै सहज हुन्छ ।
यी देशहरुसँग, जलविद्युत, यातायातका साथै तेस्रो देशसँग व्यापार गर्न बाटो पनि खुल्छ। त्यसैले सरकार यसमा लाग्नैपर्छ भन्ने मेरो सुझाव हो।
तीन देशबीच साझेदारी भएपछि यहाँ रोजगारका कुरा जोडिन्छ, पर्यटनको सम्भावना रहन्छ, लगानीको कुरा हुन्छ। लगानी भएपछि उद्योग र व्यापारले ठाउँ पाउँछ।