बाराको निजगढमा निर्माण गर्ने भनिएको अन्तर्राष्ट्रिय विमानस्थलको गुरुयोजना बनाउने जिम्मा भारतीय कम्पनी सिजी इन्फ्राटाले पाएको छ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले भारतीय कम्पनी सिजी इन्फ्राटा/विडिए जेभीलाई गुरुयोजना बनाउने जिम्मा दिएको हो।
प्राधिकरण अन्तर्गतको राष्ट्रिय गौरवको आयोजना निर्देशनालयले उक्त जेभीसँग सम्झौता गरेको हो।
सम्झौताअनुसार गुरुयोजना निर्माणको काम १३ महिनाभित्र सकिने छ। २९ करोड ८९ लाख ९० हजार ९ सय रुपैयाँमा काम गर्नेगरी कम्पनीसँग सम्झौता गरिएको निर्देशनालय प्रमुख प्रदिप अधिकारीले जानकारी दिए।
गुरुयोजना बनाउने सम्बन्धमा परामर्शदाता नियुक्त भएपनि यो आयोजना निर्माणका लागि लगानी भने अहिलेसम्म निश्चित भएको छैन। सरकारले आयोजना गरेको लगानी सम्मेलनमा जुरिच इन्टरनेशनलले लगानी गर्ने इच्छा देखाएको थियो। हालैमात्र उक्त कम्पनीले लगानी गर्न असमर्थ रहेको सरकारलाई जवाफ दिएको छ।
लगानी बोर्डले हालसम्म उक्त विषयमा कुनै निर्णय गरेको छैन भने सरकारले यसको लगानीको स्रोत कहाँबाट जुटाउने भनेर निर्णय पनि लिएको छैन।