'स्वदेशमै शिक्षा, सबैको इच्छा' नारा साथ पहिलोपटक 'नेपाल भर्चुअल कलेज फेयर' सुरू भएको छ। माघ ८ गतेदेखि सुरू यो फेयर १२ गतेसम्म हुनेछ। यसपालि कोरोना महामारीका कारण यो फेयर अनलाइन भएको हो।
अनलाइन शैक्षिक कार्यक्रमको मुख्य उद्देश्य विद्यार्थीलाई नेपालमै बसेर गुणस्तरीय शिक्षा लिन प्रोत्साहन गर्नु भएको आयोजकले जनाएको छ।
कार्यक्रममा विभिन्न कलेजका प्रमुख व्यक्तिहरू उपस्थित हुनेछन् जहाँ कलेजका पढाइ र सुविधाबारे कुराकानी हुनेछ। यो सँगै कार्यक्रममा देशभित्र आफ्नो पढाइ सम्बन्धित पाइने थुप्रै रोजगारका अवसरबारे पनि छलफल हुनेछ।
बिहीबार सुरू भएको 'नेपाल भर्चुअल कलेज फेयर'को पहिलो कार्यक्रममा प्रेसिडेन्टल बिजनेस स्कुलका अध्यक्ष लक्ष्मण केसी र पठाओ नेपालका सिइओ असिममान सिंह बस्न्यात भएका थिए। सो कार्यक्रममा अध्यक्ष लक्ष्मण र सिइओ असिमले नेपालको पढाइ पाठ्यक्रम तथा युवापुस्ताले देशभित्रै कसरी रोजगार अवसर प्राप्त गर्न सक्छन् भन्ने विषयबारे छलफल गरेका छन्।
पठाओ नेपालका सिइओ असिमका अनुसार पठाओमा हाल ८० हजार राइडर कार्यरत छन्। जसमा अधिकांश राइडर २४ वर्ष वा मुनिका छन्। ती राइडरमध्ये कयौं विद्यार्थी छन्। कोही कलेज पढिरहेका छन् भने कोही भर्खरै पढाइ सकाएर काम गरिरहेका छन्। तर, राम्रो कलेज पढ्ने होडबाजीमा विद्यार्थीहरू थोरै समय मात्र काम गरेर विदेश जाने असिमको गुनासो छ।
यसरी पढाइ वा रोजगारका लागि कयौं विद्यार्थी विदेश पलायन भइरहँदा, भविष्यमा नेपालभित्र काम गर्ने जनशक्ति नहोला भन्ने चिन्ता उनले व्यक्त गरे।
आइटी विषय पढेका असिम नेपालमा धेरै रोजगारको अवसर देख्छन्। तर, यस्ता अवसर विद्यार्थीमाझ पुर्याउन कलेजहरूको मुख्य भूमिका रहने उनको भनाइ छ।
'कलेजहरूले विद्यार्थीलाई किताबमा मात्र सीमित गराउनुभएन,' असिम भन्छन्, 'पढाइपछि यहाँ रहेका काम र अवसरबारे विद्यार्थीलाई ज्ञान दिनुपर्छ। ताकि उनीहरूलाई नेपालमा पढेर केही फाइदा छैन भन्ने नहोस्।'
प्रेसिडेन्टल बिजनेस स्कुलका अध्यक्ष लक्ष्मण केसीका अनुसार उनको कलेजले यो समस्यालाई ध्यान दिँदै आइरहेको छ। प्रेसिडेन्टल बिजनेस स्कुलले आफ्ना विद्यार्थीलाई केबल किताबमा रहेको कोर्समा मात्र फोकस नगरेर पढाइ सम्बन्धित व्यवहारिक ज्ञान पनि दिइरहेको लक्ष्मण केसी बताउँछन्।
'विद्यार्थीहरू पढाइका लागि विदेश जानुको अर्को कारण यहाँका कलेजमा पढाइने किताब बाहिरी देशमा काम नलाग्ने भन्ने छ,' उनी भन्छन्, 'तर अब कोर्सको समस्याले गर्दा विदेश जानुपर्ने अवस्था छैन। हार्वर्ड विश्वविद्यालयमा पढाइ हुने किताब हामीले आफ्नो कलेजमा ल्याएर पढाउन सक्छौं।'
सुरूमा विद्यार्थी आफैंले कस्तो कलेज पढ्ने भनेर ध्यान दिनुपर्ने अध्यक्ष लक्ष्मणले बताए, 'ग्लोबल कन्टेक्स्टमा कस्ता पाठ्यक्रम छन्, कस्ता ट्रेनिङ प्रोगाम सिक्नुपर्छ भन्ने ध्यान दिएर मात्र विद्यार्थीले कलेज रोज्नुपर्छ।'
राम्रो भविष्यका लागि विद्यार्थीले केबल कलेजमा भर नपर्न असिम सुझाउँछन्।
'कलेजले केबल कोर्स सिकाउने हो, त्यसबाहेक विद्यार्थीले अरू काम आफैंले सिक्नुपर्छ,' उनी भन्छन्, 'मैले कलेज पढ्दा परीक्षामा कयौंपटक फेल भएँ। किताबी कुरा थाहा नभए पनि मलाई आफ्नो पढाइ सम्बन्धित काम सबै आउँथ्यो। आफ्नो शिक्षाको सबै जिम्मा कलेजले लिने होइन। कलेजले दिने डिग्रीले ढोका मात्र खोल्ने हो, त्यसपछि आफूले के गर्न सकिन्छ भनेर बुझ्नु पर्छ।'
अझ टेक्नोलोजी विषय पढेका विद्यार्थीले किताबका कुरामा मात्र सीमित नहुन असिम बताउँछन्।
यो कुरामा प्रसिडेन्टल बिजनेस स्कुलका अध्यक्ष लक्ष्मण केसी पनि सहमत छन्। उनी भन्छन्, 'टेक्नोलोजीको हावी संसारभर छ। योबिना केही पनि काम परिकल्पना गर्न सक्दैनौं। फेरि यो क्षेत्र समयसँगै अपडेट भइरहन्छ र विद्यार्थीले पनि सँगै यसबारे ज्ञान पाउनुपर्छ। कलेजहरूले आइटी विषयका विद्यार्थीलाई मात्र नभइ सबै विषयका विद्यार्थीलाई उनीहरूको पढाइ क्षेत्रमा भइरहेका कामबारे सूचित गराउनु पर्छ।'
'मैले मास्टर डिग्री सकाएको बीस वर्ष भइसक्यो तर आज मलाई त्यो डिग्री काम छैन। पढ्ने भनेर किताबको पाठ घोक्ने होइन, आफ्नो सामान्य ज्ञानलाई बलियो बनाउँदै जाने हो,' उनले थपे, 'हामी विद्यार्थीलाई पढाइको प्रक्रिया सिकाउँछौं र उनीहरूलाई भविष्यका लागि परिपक्व बनाउँछौं।'
फेरि नेपालमा विद्यार्थीले आफ्नो डिग्रीलाई अनुसार योग्य काम नपाउने भएकोले पनि निराशा छाएको अध्यक्ष लक्ष्मणले औंल्याए।
'भारतमा एमबिए गरेका विद्यार्थीलाई बैंकमा सिधै म्यानेजरको जागिर दिइन्छ, तर नेपालमा ट्रेनी असिस्टेन्टको रूपमा काम गर्दै जानुपर्छ,' उनी भन्छन्, 'हामी पढाइ र कामको अनुभवबीचको यो दुरी हटाउन कोशिस गरिरहेका छौं। स्नातक सकिनु केही महिनाअघि नै विद्यार्थीलाई उनीहरूको पढाइ क्षेत्रमा कामको ज्ञान पनि दिन्छौं।'
नेपालमा बसेर पढाइसँगै कामको अनुभव सिक्न सकियो भने यहाँ थुप्रै अवसर रहेको पठाओका सिइओ असिमको भनाइ छ।
उनका अनुसार विद्यार्थीले विदेशमा कमाउने पैसा नेपालमा बसेर सजिलै कमाउन सक्छन्। तर, त्यसका लागि युवापुस्ताले सुविधा मात्र नखोजेर देशभित्रका समस्या पनि कसरी समाधान गर्न सकिन्छ भनेर सोच्नु पर्छ।
असिम भन्छन्, 'वैदेशिक अवसर कति समयसम्म पाउन सकिएला थाहा छैन। त्यसैले नेपालमा बसेर पाएका अवसरको फाइदा लिने वा आफैंले अवसर सिर्जना गर्न सक्नु पर्छ।'