काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पूर्वतिर एयरलाइन्सहरुका लागि आवश्यक पर्ने ह्यांगर निर्माण हुने भएको छ।
हाल टर्मिनल भवनसँगै रहेका कतिपय ह्यागरका कारणले साँघुरो भएको भन्दै नेपाल नागरिक उड्डयन प्राधिकरणले विमानस्थलको जडिबुँटीपट्टी निर्माण गर्ने भएको हो।
ह्यांगर र एप्रोन क्षेत्र निर्माणका लागि प्राधिकरण अन्तर्गतको विमानस्थल क्षमता विस्तार आयोजना निर्देशनालयले टेन्डर आव्हान गरिसकेको छ।
हाल नेपाल एयरलाइन्स र नेपाली सेनाको ह्यांगरका कारणले गर्दा आन्तरिक उडानको टर्मिनल विस्तारको ठाउँ अभाव भएको प्राधिकरणले जनाउँदै आएको छ।
विमानस्थलको गुरुयोजनामा अहिले टर्मिनल भएको ठाउँमा अन्तर्राष्ट्रिय टर्मिनलमात्र राख्ने र पूर्वतिर आन्तरिक टर्मिनल सार्नुपर्ने सुझाएको थियो।
सोही गुरुयोजना अनुसार अहिले सबै पूर्वाधारहरु निर्माण भइरहेको र सोहीअनुसार एप्रोन र ह्यांगर क्षेत्रको निर्माण गर्न सुरु गरिकएको प्राधिकरणका महानिर्देशक राजन पोखरेलले जानकारी दिए।
अहिले बुद्ध एयर लगायतका निजी सेवा प्रदायकको ह्यांगरमात्र पूर्वतिर रहेको छ।
एप्रोन तथा ह्यांगर क्षेत्र निर्माण, समानन्तर ट्याक्सी वे निर्माणका लागि प्राधिकरणले एसियाली विकास बैंकको ऋण परिचालन गर्ने भएको छ।
बैंकले केही समय अघिमात्र काठमाडौं विमानस्थलको क्षमता विस्तार तथा भैरहवा विमानस्थलको दोस्रो चरणको काम गर्न भन्दै १८ अर्ब ऋण दिएको थियो।