नेपाल नागरिक उड्डयन प्राधिकरणले त्रिभुनव अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा एयरपोर्ट होटल बनाउने निर्णय हवाइ सुरक्षाका अन्तर्राष्ट्रिय मापदण्डभित्रै रहेर गरिएको प्रष्टिकरण दिएको छ।
विमानस्थल होटल नेपालको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मात्र बनाउन लागिएको अनौठो विषय नभई संसारभरीका सबै ठूला अन्तर्राष्ट्रिय विमानस्थलहरुमा उपलब्ध हुने सुविधा भएको प्राधिकरणले बताएको छ।
प्राधिकरणले आज एक प्रेस विज्ञप्ति जारी गर्दै निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमासमेत एयरपोर्ट होटल प्रयोजनका लागि जग्गा छुट्याइएको बताएको छ।
२०२६,२०३० र २०३१ सालमा अधिग्रहण गरिएको जग्गा भएको ठाउँमा विमानस्थल गुरुयोजना अनुसार ९२ रोपनी क्षेत्रफलमा पाँचतारे होटल निर्माणका लागि निजी क्षेत्रसँग सहकार्य गर्ने निर्णय २०७२ साल माघमै भएको प्राधिकरणले जानकारी दिएको छ। उक्त निर्णय कार्यान्वयनका लागि थप प्रगति अहिलेसम्म केही नभएको प्राधिकरणको भनाइ छ।
'नेपाल सरकार (मन्त्रिपरिषद) को मिति २०७२|९। २९ को निर्णयानुसार त्यस स्थानको ९२ रोपनी जग्गामा निर्माण स्वामित्व, सञ्चालन र हस्तान्तरण प्रणालीमा पाँच तारे विमानस्थल होटल लगायत संरचना निर्माण गर्न लिज प्रदान गर्ने स्वीकृति प्राप्त भएको तर प्राधिकरणले हाल यस सम्बन्धि कार्य अगाडि बढाइको छैन' प्राधिकरणको विज्ञप्तिमा भनिएको छ।
विमानस्थलको जग्गालाई उत्पादनशिल गतिविधीमा उपयोग गरी विश्वका अन्य अन्तर्राष्ट्रिय विमानस्थलमा जस्तै हवाई यात्रुलाई अधिकतम सेवा सुविधा उपलब्ध गराउनुका साथै विमानस्थलको आम्दानीको श्रोतलाई विविधीकरण गर्न यस्तो अवधारणा ल्याइएको प्राधिकरणले बताएको छ।
हवाइ तथा उडान सुरक्षा अन्तर्राष्ट्रिय दायत्विको विषय भएको प्राधिकरणले बताएको छ। विमानस्थलको सिनामंगलमा रहेको जग्गा वरीपरी भएका घरहरुकै अनुपातमा पूर्वाधार निर्माण गर्दा असुरक्षाभन्दा पनि यात्रुलाई थप सुविधा प्राप्त हुने प्राधिकरणले बताएको छ।