नेपालमा युवापुस्ताबीच उद्यमी बन्ने हुटहुटी बढेसँगै सानादेखि ठूला व्यवसायहरू धमाधम सञ्चालन भइरहेका छन्।
व्यवसायमा लाग्ने धेरै उद्यमी आफूले पढेभन्दा फरक विषयका विद्यार्थी हुन्छन् भने केहीले आफ्नो पढाइलाई पछ्याएर व्यवसाय सुरू गर्छन्।
यस्ता कयौं विद्यार्थीलाई उद्यमीका रूपमा सिर्जना गर्ने कलेजमध्ये बबरमहलस्थित किङ्स कलेज पनि एक हो। यो कलेजले विद्यार्थीलाई पाठ्यक्रम र बाहिरी बजारबारे पर्याप्त शिक्षा दिएर उद्यमशीलतातर्फ अघि बढाइरहेको छ।
किङ्स कलेजका अध्यक्ष नरोत्तम अर्यालका अनुसार नेपालमा उद्यमीका लागि धेरै अवसर छन् तर ती अवसर चिनाउन अझै पनि चुनौतीपूर्ण छ। उद्यमशीलताको अवसर र यसमा शैक्षिक क्षेत्रका भूमिकाबारे सेतोपाटीका अनुषा अधिकारीले अध्यक्ष अर्यालसँग कुराकानी गरेको सम्पादित अंशः
उद्यमीका लागि हामीकहाँ कस्तो अवस्था छ?
नेपालमा अहिलेमा उद्यमी बन्नेको संख्या व्यापक बढिरहेको छ। करिब ६ वर्ष यतादेखि उद्यमशीलता गर्न चाहने युवाले आफूलाई चाहिने शिक्षा, सल्लाह, लगानी सहयोग र मागअनुसारका प्रविधिको राम्रो सुविधा पाइरहेका छन्।
भविष्यमा उद्यमी बन्न अवसर अझ बढी हुनेछ। उनीहरूका लागि नयाँ व्यवसाय सुरू गर्न अवस्था सहज र फराकिलो हुनेछ।
नेपाली शिक्षा प्रणालीले उद्यमशीलतालाई कसरी अघि बढाइरहेको छ?
नेपालको शैक्षिक प्रणाली अझै पनि किताब र पाठ्यक्रममा अड्किएको छ। विद्यार्थीलाई कोठामा थुनेर परीक्षा नतिजाको आधारमा उनीहरूको क्षमता मापन गर्न सकिँदैन। विद्यार्थीलाई किताबसँगै आफ्नो समुदाय र बजारको ज्ञान दिनुपर्छ। अनि मात्र उनीहरूले अरूसँग सहकार्य गरेर समस्या समाधान गर्न सक्छन्। एउटा सफल उद्यमीलाई चाहिने योग्यता पनि यही हो।
केही शैक्षिक संस्थाले आफ्ना विद्यार्थीलाई किताबी ज्ञानसँगै व्यवहारिक ज्ञान पनि दिइरहेका छन्। अब यसलाई ठूलो रूपमा नियमन गर्न सके नेपालको उद्यम परिवेश फेरिने छ।
नेपालको सन्दर्भमा उद्यमीका लागि पाठ्यक्रम कसरी तयार पारिएको छ?
विदेशी कलेजसँग सम्बद्ध कलेजले बाहिरी पाठ्यक्रमका आधारमा विद्यार्थीलाई पढाइरहेका हुन्छन्। यी पाठ्यक्रमबाट विद्यार्थीले धेरै ज्ञान सिकेका छन्, तर यसमा अझै सुधार ल्याउन जरूरी देखिन्छ।
हाम्रा विद्यार्थी किताबमा मात्रै बाँधिएका छन्। विदेशी कलेजसँगको सहकार्य कार्यक्रम सञ्चालन गर्दा पनि विद्यार्थी पढाइ छुट्ने डरले उपस्थित हुन चाहँदैनन्। हामीले पढाइमा भन्दा गराइमा धेरै ध्यान दिनुपर्छ। बिहानदेखि बेलुकासम्म रटाउने होइन, कसरी काम गर्ने भनेर सिकाउनु पर्छ।
यहाँ उद्यमीका लागि कस्ता शैक्षिक कार्यक्रमहरू छन्?
उद्यमी पढ्न चाहिने विद्यार्थीका लागि स्नातक तहमा बिबिए प्रोग्राम र स्नातकोत्तर तहमा एमबिए प्रोग्राम छ। विद्यार्थीका लागि थुप्रै शैक्षिक कार्यक्रम र प्रतिस्पर्धा भइरहेका हुन्छन्। विदेशी कलेजसँग सहकार्य गरेर पनि कयौं काम हुने गर्छ।
विद्यार्थीलाई बाहिरी बजारमा काम गर्न कसरी तयार गरिन्छ?
विद्यार्थीलाई आफ्नै वरिपरि भएका समस्या समाधान गर्न सिकाउनु पर्छ। शिक्षकले विद्यार्थीलाई बाटो मात्र देखाउने हो, त्यो बाटोमा कसरी हिँड्ने भनेर विद्यार्थी आफैंले जान्नु पर्छ।
योसँगै आफ्नो पठाइभन्दा फरक क्षेत्रका मानिससँग थुप्रै प्रोजेक्टमा मिलेर काम गर्ने वातावरण सिर्जना गराउनु पर्छ। उनीहरूमा सबै क्षेत्रबारे थोरै भए पनि ज्ञान हुनु पर्छ, ताकि पछि गएर एक्लै केही काम गर्दा सहज होस्।
व्यवसाय सञ्चालन गर्न चाहने विद्यार्थीलाई कलेजले आर्थिक सहयोग गर्छ?
कलेजले विद्यार्थीलाई लगानीमा सहयोग गर्ने चलन भर्खरै सुरू भएको छ। हाल केही कलेजहरूले विद्यार्थीलाई सहयोग गर्न फन्डिङ प्रोग्राम पनि ल्याएका छन्। यसका साथै इन्भेस्मेन्ट कम्पनीहरूले विद्यार्थीका प्रोजेक्ट र आइडिया हेरेर लगानी गरिरहेका हुन्छन्। पहिलेको अवस्था हेरी विद्यार्थीले अहिले पैसा नभएर काम गर्न गाह्रो भएको अवस्था छैन।
सफल उद्यमी सिर्जना गर्न कस्ता परिवर्तन ल्याउन जरुरी छ?
नेपालको प्रविधि क्षेत्रमा उद्यमीहरूले धेरै ठूला काम गरिरहेका छन् र त्यो निकै खुसीको कुरा हो। इसेवा, फोनपे, सस्तो डिल, हिमालयन जावा, भ्याली एक्सप्रेस, कारखाना, टुटल जस्ता थुप्रै नयाँ व्यवसायका उद्यमीले सफलता कमाइरहेका छन्।
भविष्यमा अन्य थुप्रै क्षेत्रबाट पनि उद्यमीको जन्म हुन बाँकी नै छ। प्रविधिमा अवसर धेरै छन्, तर सबै विद्यार्थी त्यसैमा काम गर्नुपर्छ भन्ने होइन। बरू आफ्नो रूचिको क्षेत्रलाई प्रविधिसँग जोडेर अगाडि बढाउन सकिन्छ। यसरी पछाडि परिएका कामले राम्रो सफलता कमाउन सक्छ।