राइड सेयरिङ प्लाटफर्म पठाओको राइड सेवा चल्न थालेको छ। एप अपडेटका कारण अबरूद्ध भएको राइड सेवा भर्खरैदेखि चल्न सुरू भएको कम्पनीको श्रेत्रीय निर्देशक असिममान सिंह बस्न्यातले जानकारी दिए।
‘अपडेट भइरहेका कारण राइड रोकिएको थियो। अहिले चल्न सुरू भयो,’ उनले भने।
प्राविधिक कारणले पठाओको ट्याक्सी र फुड पनि मंगलबारदेखि बन्द थियो। आज बिहानदेखि उक्त सेवा पनि सञ्चालनमा आएको हो।
सोमबार बिहान ट्याक्सी चालक र पठाओ राइडरबीच झडप भएपछि राइड सेवा रोकिएको आम उपभोक्ताले अनुमान लगाएका थिए। तर, झडपका कारण नभई प्राविधिक कारणले बन्द भएको कम्पनीको श्रेत्रीय निर्देशक असिममान सिंह बस्न्यातले जानकारी दिए।
‘झडपले बन्द भएको होइन, हाम्रो प्राविधिक समस्याले बन्द भएको हो,’ उनले भने, ‘समस्या समाधान भएर हाम्रो सबै सेवा सुचारू भइसकेको छ।’
ट्याक्सी चालक र पठाओबीच झडप भएपछि पठाओ राइडरलाई पठाओको लोगो अङ्कित ज्याकेट लगाएर राइड गर्न रोक लगाइएको छ।
मंगलबार सरकारी निकाय र पठाओ बीच भएको छलफलले राइडरलाई पठाओको लोगो अङ्कित कपडा लगाउन रोक लगाएको हो।
अफलाइन राइडको विकृति निरुत्साहित गर्न र राइडको सहज परिस्थिति बनाउन उक्त निर्णय गरिएको बस्न्यातले जानकारी दिए।
राइडरले पठाओको लोगो या ब्रान्ड झल्काउने कुनै पनि कपडा अर्को सूचना नआएसम्म प्रयोग नगर्न उनले अनुरोध गरेका छन्।
कोही राइडरले पठाओको ब्रान्ड झल्कने कुनै कपडा प्रयोग गरेर राइड गरे कारबाही हुने उनले बताए।
कोरोना महामारीमा सरकारी स्वास्थ्य सुरक्षाको मापदण्ड अनुसार कम्पनीले राइडरलाई राइडको समयमा अनिवार्य प्रोटेक्टिभ गेयर ‘ज्याकेट र ट्राउजर’ को व्यवस्था गरेको थियो।
नेपालमा सन् २०१८ को सेप्टेम्बरदेखि बाइक राइड सेयरिङ सेवा सुरु गरेको पठाओ नेपालले सन् २०१९ को अगस्टदेखि ट्याक्सी सेवा सुरु गर्दै आएको छ।