विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट विदेशमा ६६ हजार १९ जना नेपाली संक्रमित भएका छन्। तीमध्ये ६३ हजार ४ सय ५७ जना कोरोना संक्रमणमुक्त छन्।
यो कुल संक्रमित संख्याको ९५ दशमलव ५ प्रतिशत हो। गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका अनुसार विश्वका ५४ देशमा रहेका नेपालीहरु कोरोनाबाट संक्रमित भएका हुन्।
संघअनुसार कोरोनाका कारण अफ्रिका, युरोप, एसिया, अष्ट्रेलिया, अमेरिका लगायतमा रहेका २३ देशमा ३ सय ४९ जना नेपालीहरुको मृत्यू भएको छ।
यो साता कोरानाले विदेशमा कुनै पनि नेपालीले ज्यान गुमाउनु परेको छैन।
शनिवार साँझसम्म स्पेन, पोल्याण्ड, चेक रिपब्लिका, जापान, मलेसिया, यूएई र कतारमा रहेका नेपालीमा थप कोरोना भाइरसको संक्रमण देखिएको छ।
स्वास्थ्य समितिले पछिल्लो समय संक्रमणदर बढ्दै गएको भन्दै भौतिक दुरी कायम राख्न र स्वास्थ्य सावधानी अपनाउन आग्रह गरेको छ ।