कथाकार तथा आख्यानकार सबु सुवेदीद्वारा लिखित उपन्यास ‘मञ्जूषा’ शनिबार राजधानीमा एक कार्यक्रमकाबिच लोकार्पण गरिएको छ ।
वरिष्ठ कवि तथा आख्यानकार भुवनहरि सिग्देल, आख्यानकार अमर न्यौपाने, पत्रकार फूलमान वल, समीक्षक सचिन घिमिरे, चलचित्र लेखक प्रदीप भारद्वज र लेखक सबु सुवेदीले संयुक्त रूपमा उपन्यासको विमोचन गरेका हुन् ।
विमोचनपछि कार्यक्रममा बोल्दै वरिष्ठ साहित्यकार भुवनहरि सिग्देलले सबु सुवेदी नयाँ लेखक नभएर साहित्यिक जगतको क्षमतावान लेखकका रूपमा उपस्थित भएको बताए ।
‘लेखनमा परिपक्वता, सलर र सहज भाषाशैली लोभलाग्दो छ । सुवेदीको भाषाशैलीबाट प्रभावित भएको छु, भाषाशैली परिस्कृत छ । उपन्यास मञ्जूषा वर्तमान सामाजिक विषयवस्तुमा आधारित रहेको छ ।’
पुस्तक लोकार्पणसँगै पुस्तकमाथि अन्तरक्रिया समेत गरिएको थियो । अन्तरक्रियाको सहजीकरण समीक्षक सचिन घिमिरेले गरेका थिए। उनले लेखक सबु सुवेदी, आख्यानकार अमर न्यौपाने र पत्रकार फूलमान वनलाई प्रश्न सोधेर उपन्यासको बलियो तथा कमजोर पक्षमा टिप्पणी गर्न लगाएका थिए ।
अन्तरक्रिया कार्यक्रमा आख्यानकार अमर न्यौपानेले उपन्यासको परिकल्पना र सरल प्रस्तुति रहेको बताए ।
‘उपन्यासको भाषा सरल रहेको छ’, उनले भने, ‘यसमा समाजको यथार्थ कथावस्तुलाई समावेश गरेको छ । लेखकले परिकल्पना गरेको यस उपन्यासको परिकल्पना नै राम्रो छ । वर्तमान समाजको चित्रण उपन्यासमा छ । उपन्यासमा युवा उमेरका प्रेम सम्बन्ध केलाइएको छ ।’
त्यस्तै पुस्तकका बारेमा बोल्दै अर्का वक्ता फूलमान वलले– ‘नयाँ लेखक भएर पनि सबु सुवेदीको लेखनमा परिपक्वता भेटिन्छ । समाजका सुक्ष्म पक्षलाई कथामार्फत सरल, सहज र सरस भाषाशैलीमा उतार्नु लेखकको बलियो पक्ष हो ।’
वलले उपन्यास नारीले लेखे पनि उपन्यासमा नारी र पुरुष दुवैको कथावस्तु समेटिएकाले यस उपन्यास विभिन्न कोणबाट समीक्षा गर्न सकिने बताएका थिए ।
पुस्तकमाथि बोल्दै उक्त उपन्यासकी लेखक सुवेदीले प्रेमको नयाँ परिभाषा गरेको र बाँकी पाठकको जिम्मा रहेको बताउइन् ।
उक्त उपन्यास ‘मञ्जूषा’ शिखा बुक्सले प्रकाशन गरेको हो ।