एक छाक खाएकी छे के भन्नु
चम्सुरको रस भन्दा दोब्बर
छोरीले दूध तानेकी छे तिनको
तैपनि मध्यान्ह गुह्येश्वरी
बेलिपुष्प लिएर
दैनिक डुब्न पुगेकी छे ।
शेषनागको दम्पत्ति मिलन झैं
उनको दम्पत्ति मिलन
खोई किन झन् झन् बेपत्ता छ
आज स्वस्थानी साङ्गे हुनेवाला छ
खोई गोमाको चर्खा कस्तो थियो ?
जीवनको चर्खा उनको
अलाप छ,
केवल बिलाप घुम्छ चर्खामा
पेट लाग्दाको महिनामै
मलेसिया भासिएको प्यारो खसमसँगै
प्रेमरागको सत्य कसम भासिएको
आज ३ वर्ष बढी भयो
र ठीक १ वर्ष भयो
गोमा ब्राम्हणी पढ्न थालेकी
अनि मनैमनमा पालेकी –
“एकदिन चन्द्रावतीलाई झैं
डोले पठाउनेछन् नवराजले
नवराज राजालाई झैं
लावण्य दिनेछ हरिहरले....”
आज तिनले
अष्टोतरसय रोटी पकाई
बेलीपुष्प, अक्षता दुबो छुट्याई
गणेशथानको लड्डु लिएर
तसलामा लुकाई
बालुवाको शिवलिङ्ग ठडाई
धुप,दिप, प्रसादी, बस्त्र चढाई
स्वस्थानी महिमा गाउँदै घण्ट बजाई
आज स्वस्थानी साङ्गे
आँखा चिम्लेर ध्यानमग्न बनाई
तब प्रकट भयो हरिहर
सुनौलो तसला फोडेर
निस्कियो बरदान –
प्रापकः सुनकेसरी
प्रेषकः मलेसिया दुताबास
मृतकको नामः हरिहर !
सकियो स्वस्थानी साङ्गे
सकियो हरिहरको पनि साङ्गे !!
(अनिता लामाको प्रकाशित कविता कृति ‘आतुङ’बाट)