दुई वर्षको हाम्रो प्रेमपूर्ण सम्बन्ध बिहेमा परिणत भएको पनि यसपाली आठ वर्ष पूरा भएछ। तर पनि बिहेपछि लामो समय फुर्सदिलो हुनेगरी हामी कहिल्यै बसेका थिएनौँ।
व्यस्तताकै बीच वर्षको अन्त्यतिर आइपुग्दा देशमा कोरोनाको गर्मी सुरु भयो। देश बन्दबन्दीमा गयो। घरतिर वास्तै गर्न छाड्यौँ भनेर गुनासो गर्ने श्रीमती पनि खुशी हुन थालेकी थिइन्। घरको काम पनि सजिलो हुन थालेको थियो उनलाई। छोरीको पनि स्कूल बिदा। उसले पनि रमाइलो मान्दै थिई। भर्खर एलकेजीको परीक्षा सकेर बसेकी उनी अब युकेजीमा उक्लिनेवाला थिई।
'बेबी! भरे बेलुका खानामा के पकाउँ त?'
कहिले के पकाउ भनेर नसोध्ने मेरी श्रीमतीले आज अचानक यो प्रश्न सोधिन्। उसो त लाकडाउन सुरु भएसँगै सबैका भान्सामा नानाथरLका परिकार पाके। सामाजिक संजालमाहरुमा खानेकुराका तस्बिरहरु छरपष्ट भए। त्यै मेसो बुजेर उनले मलाई सोधेको हुनुपर्छ। यद्यपि मलाई पेट भरिए पुग्थ्यो, सामाजिक संजालका तस्बिरहरु तिर त्यति आकर्षण पनि थिएन मेरो।
फुर्सदको समय भएकोले म ल्यापटपमा भएको डिजीटाइज गरिएका पुराना रिलवाला क्यामेराको फोटाहरु, एल्बममा जस्तै फोल्डर बनाएर राख्नमा व्यस्त थिए। मैले उत्तर दिन आवश्यक ठानिन।
उनको प्रश्नको आशयभन्दा पनि उनले प्रयोग गरेको 'बेबी' शब्द मेरो दिमागले टपक्कै टिप्यो। यो शब्द हामी अलिक कम नै प्रयोग गर्थ्यौँ। एकअर्काका नामलाई काँटछाँट गरेर पछाडि उकार लगएर बढी बोलाउने गर्थ्यौ हामी। मेरो मनोज नामलाई मनु अनि उनको सर्मीला नामलाई सरु। हुनत नेपाली व्याकरणको स्त्रीलिंगमा इकार प्रचलित रहेजस्तै नेपाली प्रेम जगतमा उकारको विशेष महत्व छ।
अंग्रेजी शब्द 'बेबी' भन्दा पनि कम छैन होला। उकार लगाइएका सबै चिज प्यारा। मोटालाई मोटु, सानालाई सानु, छोटालाई छोटु, कालालाई कालु, कान्छालाई कान्छु। अझ हिजोआज चलेको बुढालाई बुढु। गाली गर्ने नाम, चरित्र, कद, वर्ण आदि झल्काउने नाम, नाता साइनो आदि सबैमा उकार मिठो।
दुई अक्षरको नाम भए पछाडि उकार लगाईदियो, त्योभन्दा बढीको भए दुई अक्षरमा झारेर उकार लगाइदियो। त्यसै मिठा सुनिने।
'बेऽऽऽऽऽऽबी! सुनेनौ क्या हो? बेलुका के खान मन छ भनेको?' उनले फेरि सोधिन्। म झसङ्ग भए। अब भने उत्तर दिनै पर्ने भो।
'मासु भात पकाउ सरु' छोटो उत्तर दिए।
जसले जे भनेपनि हामी नेपालीलाई भात नै प्यारो। झन् मांशाहार गर्नेलाई त मासु भात भएपछि के चाहियो र! यसपाली उत्तर दिन बेर लागेन। तर पनि उत्तरमा 'बेबी' शब्द झटपट समावेश गर्न सकेन मेरो दिमागले। 'बेबी' मेरो मस्तिष्कभित्रै रुमल्लिरह्यो। हाम्रो जोडीको लागि यो शब्द अझै विशेष छ। एउटा कहानी नै 'बेबी'मा छ। ल्यापटपको स्क्रिनमा फोटाहरु मिलाउदै गर्दा दिमागमा पुराना यादहरु सलबलाउन थाले।
कुरा २०६६ साल असोज तिरको हो। गाउँको स्कूलबाट एसएलसी सकाएर पढाइको सिलसिलामा म काठमाडौँ छिरेको ४ वर्ष जति भैसकेको थियो। त्यो साल मध्ये असोजमै दशैं सक्किसकेको थियो। तिहार आउन केही समय बाँकी थियो। म दशैंदेखि छठसम्मको बिदा मनाउने क्रममा घरतिरै थिए।
सरु र म एउटै स्कूलक विद्यार्थी थियौँ। तर म उनीभन्दा २ कक्षा सिनियर थिए। मैले स्कूलमै चिनेको थिए उनलाई। तर उनले मलाई चिनेकी रहिनछिन्। उनी पढाइमा अब्बल थिइन्, फस्ट सेकेन्ड भइराख्ने। रिजल्ट हुँदा फस्ट, सेकेन्ड र थर्डले सबैको अगाडि गएर पुरस्कार थाप्थे र अबिरले राताम्मे भएर आउथे। अनि त सबैले चिन्ने नै भए।
म भने पढाइमा एभेरेज थिए। एभेरेज विद्यार्थीलाई अरु कक्षाकाले सितिमीति ध्यान दिँदैनथे। मलाई एसएलसी दिनेबित्तिकै सहरको भूतले समात्यो र काठमाडौँ हुइकिए। उनी भने एसएलसीपछि पनि त्यही कलेज पढिछिन् र दिउँसो-दिउँसो स्कूल पढाउन थालिछिन्।
घर नजिकै मिस भएर पढाउन आएकाले गत जाडो बिदामै राम्रैसँग चिनजान भएको थियो हाम्रो। सहरका स्कूल कलेजमा जाडो बिदा हुँदा गाउँका स्कूलहरु सबै चालु हुन्थे। त्यसैले भेट्ने मेसो मिल्यो त्यो बेला।
गाउँको स्कूलहरु दशैं तिहारको बीचमा पनि चल्थ्यो। तर सहरका कलेजहरुमा दशैँ, तिहार र छठको एकैचोटी छुट्टी हुन्थ्यो। झन्डै एक महिना जति। घटस्थापना लागेसँगै म बसको टिकट काटेर घर दौडीहाल्थे र छठ सक्केपछि मात्रै फर्कन्थे। त्यसैले यो चोटी पनि राम्रो अवसर मिल्यो मलाई।
गएको जाडोमा भेटेर गएदेखि नै उनको आकृति मेरो मानसपटलमा घुमिरहेको थियो। अहिलेको जस्तो फोन, च्याट, म्यासेज त्यति सजिलो थिएन र मात्रै नत्र कुरा कहाँ पुगिसक्थ्यो होला त्यति बेलै।
उनले पढाउने डाँडाको स्कूल नजिकै एउटा सानो मन्दिर थियो। बिहान-बिहान त्यहाँ मानिसहरुको चहलपहल हुने भएपनि साँझ चकमन्न हुन्थ्यो। त्यसैले त्यो हाम्रो साँझ भेटेर गफ गर्ने थलो बन्यो। उनको स्कूलपछि लगातार जस्तो भेट हुन थाल्यो हाम्रो। वयस्क केटाकेटीको भेटलाई त्यति उदार रुपले हेर्दैनथ्यो समाजले त्यतिबेला।
त्येसैले अहिलेको कोरोनाको सामाजिक दूरीजस्तो दूरी कायम गरेर कुरा गर्थ्यौँ। कसैले देखिहाले पनि स्थिति असहज नबनोस्। सामाजिक दूरी राखेरै कुरा गरेपनि उनको भावनात्मक कुराहरु मेरो मन भित्रै पुग्थे। रोमान्टिक हिन्दि फिल्मको डाइलग जस्तो।
'यसरी साँझको बेला एक्लै मसँग बस्दा डर लाग्दैन सर्मीला मिस?'
उनको मप्रतिको भावना बुझ्ने कौतुहलताले एक दिन सोधेँ। सबै चिनेको मान्छेहरु प्रायःले उनलाई सर्मीला मिस भनेर बोलाउने हुनाले म पनि सर्मीला मिस नै भन्ने गर्थे।
'लाग्दो हो त किन बस्थे होला र!' उनले तुरुन्तै जवाफ फर्काइन्। मेरो मन फुरुङ्ग भयो उनले यसो भन्दा।
'बरु मलाई सर्मीला मिस नभन्नुहोला, विद्यार्थीले बोलाए जस्तो के सर्मीला मिस भन्नुभाको?,' उनले गुनासो गरिन। मलाई उनको कुरा खुब घत पर्यो।
'के भनेर बोलाम त उसो भए, सर्मीला मात्रै भनम त?'
'होइन, त्यो पनि घरकाले बोलाए जस्तो भयो, अरु नै भन्नुस्'
अब फसाद पर्यो। एउटा राम्रो बोलाउने नाम पनि भएन। मलाई पनि अलिक मायालु नामले उनलाई बोलाउन मन नभएको त होइन। तर दिमागमा केही नाम आएन मेरो। फेरि सम्बन्ध कहाँसम्म पुग्ने हो, सोचविचार नगरि नाम भन्न उचित पनि लागेन मलाई। 'तिमी' मात्रै भन्छु अब अहिलेलाई भन्ने सोचेँ।
'मलाई त्यस्तो नाम राख्ने आउदैन, मभन्दा तिमी यसै पनि ट्यालेन्ट मान्छे, स्कूलमा नेपाली पढाउने मिस पनि, तिमी आफै राम्रो नाम सोचेर आउ' मैले उनैलाई जिम्मा लगाइदिए। उनले केही प्रतिक्रिया दिइनन्। एकअर्काका तिता-मिठा कुरा गरेर एकछिन गफियौँ।
'ढिला हुन लाग्यो म अब जान्छु, घरमा मार्नुहुन्छ फेरि'
झ्याउँकिरीको झ्याउँ-झ्याउँ सुरु भैसकेकोले मैले पनि हुन्छ भने। सलको सप्कोले मुख छोपेर उनी निस्किन्। म भने एकैछिन उभिएर एकटकले हेरिरहे उनलाई। पछाडिबाटै।
अलिक पर पुगेपछि एउटा कुरा दिमागमा आयो। आफ्नो लागि त नामको कुरा गर्नै भुलेछु। कुरा गर्दा उनले तपाई मात्र भनेर सम्बोधन गर्थिन् मलाई। नाम मात्रै भन्दा तपाई भन्न सुहाएन। अरु नाता साइनो लाउन पनि मन लगेनछ क्यारे। सिधै तिमी भन्न नि अप्ठेरो। म उनीभन्दा ठूलो पनि थिए।
'सुन त! तिमी भोलि आउदा मेरो लागि पनि एउटा नाम सोचेर आउ है' परबाट कराएँ। उनले पुलुक्क फर्केर हेरिन् र त्यहाँबाट ओझेल परिन्।
भोलिपल्ट, पर्सिपल्ट अनि अर्को हप्ता हुँदै दिनहरु बिते। तर न उनले नाम बोलाउने नाम पक्का गरेर आइन् न मैले नै रामो नाम प्रस्ताव गर्न सकेँ। मैले तिमी भनेर बोलाउने उनले तपाई भनेर सम्बोधन गर्ने मात्रै चलिरह्यो।
पछि हाम्रो गफमा यो विषयले प्रवेश पाउनै छाड्यो। हुनत यो प्रकृतिको सम्बन्धमा अरुको पनि यस्तै हुन्छ होला। म सोच्दथेँ। हाम्रो भेटघाट र एकअर्काका प्रतिको सामिप्यता रेलको गतिमा अघि बढ्यो तर बोलाउने नाम टुंगो लागेन।
दशैँ, तिहार र छठ सकिएकाले म काठमाडौँ फर्किने तयारीमा लागेँ। फर्किने अघिल्लो दिन उनलाई भेटेँ। सधैझैँ कुराकानीहरु अगाडि बढे।
'अब हाम्रो भेट कहिले हुने ठेगान छैन। तपाई मलाई माया नामार्नु होला। काठमाडौँको हावाले जो पनि बिग्रिन्छ भन्छन्' मलिनो अनुहार परेर उनले भनिन्।
'तिमी नआत्तिउ सरु, म फेरि जाडो लगेसी आइहल्छु। बगेको हवासँगै आफू पनि बग्यो भने हो बिग्रिने, म त्यस्तो छैन। बिग्रिन्न।' यसपाली उनलाई सरु भनेर नबोलाई मेरो मन मानेन।
'ओहो! सरु भन्नुभयो त' उनी अचम्ममा परिन्।
'अँ! किन मन परेन? मलाई त सरु मात्रै हैन, अब त 'सरु बेबी' नै भनु जस्तो लाईराछ', मैले अप्ठेरो मानि-मानि थपे।
'ओहो! स्मार्ट मान्छे! हुन्छ, भन्नु तर सधै हैन नि, बानी बस्छ फेरि। अरुको अगाडि भनियो भने लाज हुन्छ। अनि सुन्नु मलाई, 'सरु बेबी' भन्ने भए म 'बेबी' मात्रै भन्छु है। हुन्छ?' मैले टाउको हल्लाएर समर्थन जनाए। उनको कुरा चित्त बज्यो मलाई पनि।
एकअर्कालाई बेबीको उपनाम दिएर हामी त्यो साँझ छुट्टियौँ। जाने बेलामा उनलाई काठमाडौँमा म बस्ने ठूलोबाको घरको ल्याण्डलाइन नम्बर थमाए। धेरै याद आयो भने फोन गर्नु भने। मसँग मोबाइल थिएन त्यो बेला। सरुको घरमा भने त्यतिबेलै सिडिएमए फोन रहेछ। उनको दाइले पठाइदिनु भाको रे। उनको घरको नम्बर पनि कागजमा लेखेर खल्तीमा हाले। र त्यहाँबाट हामी छुट्टियौँ।
मनभरी उनको याद र सम्झना बोकेर भोलिपल्ट म काठमाडौँ फर्केँ। समयहरु उनको यादमा बित्न थाले। त्यो साल जाडो बिदामा पनि म घर जान पाइनँ। कहिलेकाहीँ टेलिफोनमा कुरा हुन्थ्यो। प्रत्येक महिना घरबाट खर्च मगाउन अप्ठेरो लाग्न थालेको थियो। त्यसैले वरिपरिको ४-५ जना स्कूले केटाकेटीलाई घरमै बोलाएर गणितको ट्यूसन पढाउन थालेको थिए।
बीचमा छाडेर हिड्न मिलेन। उनलाई भेट्न नपाएसि मेरो मन कुडियो। जाडो बिदामा भेटुम्ला भनेको थिएँ, के सोचि होलिन् उनले? कतै सहर गएसि मलाई बिर्सियो भन्ठान्ने त होइन? म झन् पिरोलिन थालेँ।
ट्युसनबाट महिनाको अन्तिममा १५०० रुपैयाँ कमाइ भयो। भोलिपल्टै त्यो पैसाले बागबजार गएर नोकिया ११०० मोडेलको सेकेन्ड ह्यान्ड मोबाइल किनेँ, मेरो मोबाइलको सिमकार्ड राखेँ। अनि तुरुन्तै सरुको घरको फोन नम्बर मोबाइलमा सेभ गरेँ, सरु बेबी...
ब्ल्याक एण्ड ह्वाइट फोनमा सेभ गरेको उनको नाम र नम्बर मलाई रंगीन झैँ लाग्थ्यो। फोन अनि म्यासेजम कुराकानी बाक्लिदै गयो। त्यसपछि हाम्रो कुराकानीमा कहिलेकाही मात्र प्रयोग गर्ने सहमति भएको 'बेबी' शब्दले झन् लोकप्रियता पायो। बेबी प्रयोग नभएका त वाक्यहरु नै रुखो लाग्ने। मिठास नभएको। कोलमा उखु पेलेर बाँकी बसेको सुख्खा ढोड जस्तो।
पछिल्लो सालको बिदातिर म २/३ दिनको लागि मात्रै भएनि नियमित जसो घर जना थालेँ। सरुलाई भेटेरै आउथे। ६८ साल भदौमा मेरो स्नातकको पढाइ सकियो। म जागिर खाने तयारीमा लाग्दै थिए।
घरमा बिहेको गाइगुइ कुरा चल्न थाल्यो। दशैंमा घर गाको बेला बुबाले खुलेरै कुरा गर्नुभयो। राम्रो घरको केटीको कुरा आको छ उम्काउनु हुन्न भन्नुभयो। भर्खर ब्याचलर सकेपनि म उमेरले छिप्पिसकेको कुरा गर्नुभयो उहाँले। यो वैशाखबाट २५ लागिसकेको आमाले हिसाब लगाउनुभयो।
बिहे नै गर्दिने भएपछि मैले सरुको नाम प्रस्ताव गरेँ। मेरो मनमा उनी बाहेक अरुको लागि सायदै ठाउँ थिएन। कात्तिकमा म काठमाडौँ फर्किएपछि दुवै पक्षको कुरा मिलेछ। र त्यही वर्ष फागुनमा हाम्रो बिहे भयो। बिहेपछिका ४ महिना जति हामी घरतिरै बस्यौँ।
बिहेअघिसम्म खुब फस्टाएको हाम्रो निकनेम 'बेबी' बिहेलगत्तै धरापमा पर्यो। घरमा सबैको अगाडि एकअर्कालाई बेबी भनेर बोलाउन सहज हुँदैनथ्यो। अघिपछि जहिले बोल्ने बानि परेकाले घाटीसम्म ल्याएर रोक्नुपर्थ्यो। त्यसबेलादेखि 'बेबी' भनेर सिमित समयमा मात्रै बोलाउने गरि हामी बीच भद्र सहमति भयो। र हामीबीच 'बेबी' शब्द छायाँमा पर्दै गयो।
मैले उनलाई सरु मात्रै भन्न थाले। उनले चै मलाई मनु भनेर बोलाउन थालिन्। अरुको अगाडि हुँदा हजुर मात्र भन्थिन्। श्रीमानको नाम काटेर बोलाउन हुँदैन भन्ने चलन अझै थियो। 'बेबी' भन्नु त अपाच्य नै हुने भयो। आमाले पनि बुबालाई नामले कहिले बोलाउनु हुन्थेन। केही वर्षपछि हामीले नै त्यो चलन तोडीदियौँ।
अतितका पलहरु कोट्याउदै जाँदा निकै गहिराइमै पुगेछु। छोरीले कानमै आएर चिच्याउदै बाबाऽऽऽ... भनेपछि एक्कासी वर्तमानमा आइपुगेँ। फोटो मिलाउने काम रोकिएसँगै ल्यापटप अघिनै स्लिप मोडमा गैसकेछ। उता मासुभात पनि पाकिसकेछ। छोरीले तुरुन्त खान आउने निम्तो गरेर किचनतिर दौडीई।
वर्तमानमा आएर हामीले 'बेबी' भनेर बोलाउन कम गर्नुको अर्को पनि कारण छ। हामीले बोलाउने 'बेबी' शब्दमा छोरीलाई आपत्ति छ। उनी यो शब्द आफ्नो भएको दाबी गर्छिन्। स्कूलमा सरमिसहरुले माया गरेर बोलाउँदा उनलाई 'बेबी' भन्छन् रे। भाषागत हिसाबले हेर्ने हो भने 'बेबी' (अर्थात् बच्चा) शब्द उनकै लागि हो। तर यहाँ आफूलाई माया गर्नेले 'बेबी' भनेर बोलाउँदा मन नपराउने कमै होलान्।
बच्चा-बच्ची, ठिटा-ठिटी, अधवैशे अनि बुढा-बुढी सबैमा 'बेबी' प्रचलित छ। उकार प्रचलित भएजस्तै। तर जे भएपनि, पूराना अवस्था र कुराहरुलाई अहिलेको स्थितिमा ल्याएर तुलोमा जोखे जसरी तौलेर हेर्ने हो भने अझै पनि हाम्रो समाजका धेरै घरहरुमा यी मायाका शब्दहरुले बैधता पाउन सकेका छैनन्।
उकार लगाइएका वा 'बेबी' जस्ता अन्य कुनै मायाका शब्द किन नहोस्, जुन परिवार अथवा अरु मान्छेहरुको बीचमा उच्चारण गर्नु लज्जाकै रुपमा हेर्ने गरिन्छ।